वेबटिभी खबर
काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सुरक्षाका लागि प्रहरी नायव उपरीक्षक (डिएसपी)को नेतृत्वमा १२ जना प्रहरी थप गरेको छ । शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेलगत्तै गृह मन्त्रालयको सचिव स्तरीय निर्णयबाट प्रचण्डकाे सुरक्षामा डिएसपीको कमान्डमा दर्जन प्रहरी थपिएको हो ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड २०७७ जारी गर्दै प्रचण्डको सुरक्षामा रहेका ५५ सुरक्षाकर्मी फिर्ता गरेको थियो । उनको सुरक्षामा नेपाल प्रहरीबाट डिएसपीसहित २६ र सशस्त्रबाट इन्स्पेक्टरसहित ४७ जना सुरक्षाकर्मी खटिँदै आएकामा १८ जनामा सीमित गरिएको थियो । पूर्वप्रधानमन्त्रीका लागि सशस्त्र प्रहरीबाट १६ र नेपाल प्रहरीबाट २ जना खटाउने मापदण्ड छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुले भने सरकारले प्रचण्डलाई मापदण्डविपरीत सुरक्षाकर्मी उपलब्ध गराएको भन्दै आपत्ति जनाएका छन् । ‘सरकारले तोकेको मापदण्ड मिचेर गृहसचिवलाई निर्णय गर्न लगाई प्रचण्डले सुरक्षाकर्मी लिनु अस्वभाविक छ । हाम्रो यसमा आपत्ति छ,’ एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट स्थायी कमिटीका एक सदस्यले भने ।
सरकारकाे निर्णयपछि शनिबारबाटै डिएसपी विनोद घिमिरेको नेतृत्वमा थप एक दर्जन प्रहरी दाहालको सुरक्षाका लागप खुमलटार पुगेका छन् । उनको सुरक्षामा अब डिएसपीसहितका प्रहरीको गाडी अगुवा र सशस्त्रको गाडी पछुवाका रूपमा खटिनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij