काठमाडौं । नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरु वरिष्ठ नेता माधव नेपालको निवास कोटेश्वर पुगेका छन् । २७ असारमा कार्यदलले जुटाएको १० बुँदे सहमतिअनुसार पार्टी एकताका लागि पहल गर्न नेपाललाई आग्रह गर्न दोस्रो तहका नेताहरु नेपाल निवास पुगेका हुन् ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नै विश्वासको मत लिने तयारी रहेकाले नेपाललाई एमालेको संस्थागत निर्णयका आधारमा मात्र अघि बढ्न अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले आग्रह गरेका छन् । शनिबार साँझ अध्यक्ष ओलीलाई भेटेर आइतबार बिहान दुवै पक्षका वार्ताकार नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
नेपालले एमालेमा आफूलाई अध्यक्ष बराबरकै हैसियत चाहिने बताएपछि १० बुँदे सहमति भए पनि ओली र नेपालबीच तित्तता कायमै छ । विघटित कार्यदलका नेताहरु भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेललगायत नेपालसँग छलफल गर्न कोटेश्वर गएका हुन् । नेपालले संसद जोगाउने अर्थात् देउवालाई विश्वासको मत दिएर प्रधानमन्त्रीमा सुरक्षित गरेपछि मात्र पार्टी एकताको पहल गर्ने धारणा राखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij