वेबटिभी खबर
काठमाडौं । सार्वजनिक यातायातको साधनमा २८ प्रतिशतसम्म भाडावृद्धि गरिएको विरोधमा आन्दोलनमा उत्रने पाँच विद्यार्थी संगठनले घोषणा गरेका छन्। बिहीबार अखिल (छैठौं) को कार्यकालमा बसेको बैठकले भाडावृद्धि घटाउन आन्दोलनमा जाने निर्णय गरेको हो ।
‘भाडा वृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं,’ पाँच विद्यार्थी संगठनको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । साउन १ गते यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेश गरेपछि आन्दोलनका थप कार्यक्रम घोषणा गरिने बैठकमा सहभागी अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए ।
‘कोरोनाले जनता थलिएको, लाखौंको रोजगारी गुमेको, जनता आर्थिक रुपमा जर्जर भएर एक पेट खाना जुटाउन समेत गाह्रो भइरहेको समयमा यति ठूलो मात्रामा भाडा वृद्धि गरिनु गरिबमारा निर्णय हो,’ विज्ञप्तिमा भनिएको छ।
यसैगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एक रुपैयाँ मात्रै घटाएकोमा पाँच विद्यार्थी संगठनले असन्तुष्टि जनाएका छन् । उनीहरूले निगमले २०७१ पछि विद्यार्थी आन्दोलनको मागलाई आंशिक सम्बोधन गर्ने प्रयास गरे पनि त्यो पर्याप्त नभएको बताएका छन् ।
यसैगरी विद्यार्थी संगठनहरुले निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पदबाट बिदा लिँदै गर्दा विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका कलेजहरूको ठाउँ, नाम र विश्वविद्यालय परिवर्तन ९स्विचिङ्० गर्ने नाममा रातारात ठूलो आर्थिक चलखेल र अनियमिता गरेको आरोप लगाएका छन् ।
‘तोकिएको मापदण्ड र निर्देशिका विपरीतको अवैध प्रक्रिया तत्काल रोक्न र घोटालामा संलग्नहरुलाई छानविन गरी कारबाही गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनरत पाँच विद्यार्थी संगठनमा नेपाली कांग्रेस निकट नेविसंघ , माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) माधव नेपाल पक्षीय अनेरास्ववियु, जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चा निकट अखिल (छैठौं) छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij