रासस
वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व संकलन गरेको छ ।
आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा रामप्रसाद मैनालीले चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रुपमा राजस्व संकलन हुन नसकेको बताए । ‘अहिले समग्र मुलुकको बजार सुस्ताएको छ,’ उनले भने, ‘माग कम भएपछि आयात पनि स्वतः घट्ने भयो ।’
भन्सार विभागले कार्यालयलाई चालु आवको १० महिनाको अवधिमा ५४ अर्ब २७ करोड २१ लख ३५ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो ।
प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गो रेलबाट ढुवानी हुनेगरेको छ । विगतमा दैनिक तीन वटा कार्गो रेलबाट मालसमान आउने गरेकामा हाल दुई वटाबाट आउने गरेको छ । कार्गो रेलले एक पटकमा ६० वटा कन्टेनर ल्याउने गरेको छ ।
भन्सार विभागले कार्यालयलाई चालु आवमा ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व संकलन गर्ने लक्ष्य तोकिदिएको भए पनि कार्यालयले भने चालु आवमा लक्ष्यको ७० प्रतिशतको हाराहारीमा मात्रै राजस्व संकलन हुने जनाइएको छ । प्रमुख भन्सार अधिकृत मैनालीले चालु आवमा आइरन ब्लेड र मदिराजन्य पदार्थको आयात कम भएकाले पनि राजस्व संकलन घटेको बताए ।
‘यहाँ विशेष गरी औद्योगिक कच्चा पदार्थ आयात हुने गर्छ तर विगतको तुलनमा यो वर्ष औद्योगिक कच्चापदार्थ आयात भएको छैन,’ उनले भने, ‘गर्मी याम सुरु हुँदा पनि एसी र छाताजस्ता सामानको आयात बढेको छैन, विगतमा यो सिजनमा एसी र छाताको आयात धेरै हुने गर्थ्यो यो वर्ष एसी र छाताको पनि आयात बढ्न सकेको छैन ।’
भन्सार विभागले गत आवमा उक्त कार्यालयलाई ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व संकलनको लक्ष्य दिए पनि ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार मात्र संकलन गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij