मुकेश झा
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नौ महिना ढिलोगरी आज गाउँसभा गर्नका लागि बैठक बोलाइएको छ ।
राजनीतिक खिचातानी र जनप्रतिनिधि बीचको विवादका कारण असारमै हुनुपर्ने गाउँसभा अहिलेसम्म हुन सकेको थिएन । अनौपचारिक रुपमा सहमति जुटाएर आज गाउँसभा आयोजना हुन लागेको हो ।
स्रोतका अनुसार गाउँसभा गरेर बजेट पारित गर्न जनप्रतिनिधिबीच सहमति जुटेको छ । बैठकले चालु वर्षको बजेट पनि पारित गर्न सक्ने एक जनप्रतिनिधिले जानकारी दिए ।
गाउँसभा नहुँदा चन्द्रनगरमा गत साउन देखिको सामाजिक सुरक्षा भत्ता, शिक्षक, कर्मचारीको तलब निकासा रोकिएको छ । त्यसैगरी विकास निर्माणको कामसमेत हुन सकेको छैन ।
गाउँसभा सम्पन्न भएमा तलब र सामाजिक सुरक्षा भत्तासमेत निकासा हुने छ । सहज ढंगले पालिकाको काम अघि बढाउन पनि गाउँसभा जरुरी रहेको एक स्थानीयले बताए । ‘राजनीतिक खिचातानीले जनता मारमा परेका छन्’ एक स्थानीयले भने, ‘अब केही सुधार होला भन्ने आशा छ ।’
सहमतिमा गाउँसभा हुन लागेको भनिए पनि सुरक्षाकर्मी भने बाक्लै परिचालन गर्ने तयारी सुरक्षा निकायले गरेको छ । विवाद निम्तिन सक्ने सम्भावना भएकाले सुरक्षा बढाइएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij