Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भीमफेदी सडक दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

भीमफेदी सडक दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

  • 57
    SHARES
  • भीमफेदी सडक दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

    काठमाडौं । सरकारले मकवानपुरको भीमफेदी गाउँपालिका-६, चिसापानीगढीस्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै दुर्घटनाको वास्तविक कारण पहिचान गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न समिति गठन गरिएको जनाएको हो ।

    मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । सरकारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ । साथै, दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई उच्च प्राथमिकतामा राखिएको र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई निर्देशन दिइएको कार्यालयले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेको उपचार खर्च र मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बिमा रकम शीघ्र उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ । यसका लागि सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको छ ।

    काठमाडौं सर्लाही रुटमा सञ्चालन भइरहेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको यात्रुवाहक सवारीसाधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । छठ पर्व मनाउन घर जाने क्रममा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका-४, सुन्दरपुरका र एक जना चालक कविलासा नगरपालिकाका बासिन्दा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij