वेबटिभी खबर
सर्लाही । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले संघीयताको मर्म र भावना विपरीत सबैथोक केन्द्रको मातहतमा राखेर संघीयतामाथि बेइमानी गरिएको बताएका छन् । संघीय सरकारको यही नीतिका कारण संघीयता नै खराब हो भन्ने गलत सन्देश तल्लो तहमा पुगेको उनले बताए ।
गृहजिल्ला सर्लाहीको लालबन्दीमा शुक्रबार पत्रकारसँग कुरा गर्दै महतोले देशको शासन अप्राकृतिक ढंगबाट सञ्चालन भइरहेको आरोप लगाए । आफ्नो संस्कृति र सभ्यताको आधारमा देश सञ्चालन हुन नसकेको उनले बताए । अहिलेको शासन प्रणाली र संविधानले जनतामाथिको विभेद कायम राखेको उनको भनाई छ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग्गिएर बहुलराष्ट्रिय राज्यको नारासहित अभियान लिएर हिँडेका महतोले एकल चिन्तन सोचबाट देश चलाउँदा अहिलेको अवस्था सिर्जना भएको बताए । विविधता, विभिन्न पहिचान र राष्ट्रियताले भरिएको देशलाई एकल चिन्तन सोचबाट अप्राकृतिक हिसाबले सञ्चालन गरिएको महतोको आरोप छ ।
बहुलराष्ट्रिय राज्य स्थापनार्थ आफूले सुरु गरेको अभियान बिखण्डनको कुरा हो की भनेर भ्रम छर्न खोजिएकाले त्यस कुराको पछि नलाग्न उनले आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता सुमन सायमी, केशव झा, कमला गुरुङ, रामनरेश राय, वुद्धि छिरिङ मोक्तान लगायतका नेताहरूको उपस्थिति थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij