Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रहरीलाई गृहमन्त्री लामिछानेको निर्देशन : अनुहार हेरेर नभइ प्रमाणका आधारमा कारबाही गर्नु

प्रहरीलाई गृहमन्त्री लामिछानेको निर्देशन : अनुहार हेरेर नभइ प्रमाणका आधारमा कारबाही गर्नु

  • 114
    SHARES
  • प्रहरीलाई गृहमन्त्री लामिछानेको निर्देशन : अनुहार हेरेर नभइ प्रमाणका आधारमा कारबाही गर्नु

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । अनुहार, पद, प्रतिष्ठा हेरेर नभइ प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही अघि बढाउन पनि प्रहरीलाई निर्देशन दिए । 

    नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणपछि आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै घटनाका प्रतिवादी आदेशका आधारमा नभइ प्रमाणका आधारमा बनाउन निर्देशन दिएका थिए । 

    ‘कुनै पनि घटना तथा अपराधको छानबिन र अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुस्,’ उनले भने, ‘अनुसन्धान प्रमाणमुखी हुनुपर्दछ र कानुनको नजरमा सबै बराबर हुनुपर्दछ ।’

    उनले त्यस क्रममा नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे । निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालयको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए ।

    उनले संगठन निर्माण र उच्च छवि बनाउन योगदान दिने सम्पूर्ण पूर्वप्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूप्रति सम्मान समेत प्रकट गरे । कर्मचारीहरूले आफूलाई सुम्पिएको जिम्मेवारी कानुनी परिधिमा रही निर्वाह गर्नुपर्ने तथा उनीहरूको वृत्तिविकासको सुनिश्चितता संगठनले गर्नुपर्ने बताउँदै गृहमन्त्री लामिछानेले कर्मचारीको सरूवा, बढुवा तथा वृत्ति विकासका लागि आवश्यक नीति र योजना बनाएर ल्याउन आग्रह गरे । 

    गृहमन्त्री लामिछानेले वैज्ञानिक प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग सँगै वैज्ञानिक उपकरणहरू र दक्षजनशक्तिको विकास आवश्यक पर्ने उल्लेख गरे । पीडित महिला तथा बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब, अपांगगता भएकाहरुको न्यायका लागि अझ बढी सजग र सचेत भई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न उनले निर्देशन दिए ।

    मिटरब्याजपीडित, सहकारीपीडितको समस्या ठूलो चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उनले आर्थिक अपराध, ठगी, साइबर अपराध, लागुऔषध कारोबारलगायतका आपराधिक गतिविधि नियन्त्रणमा जुट्न पनि आग्रह गरे । 

    समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गृहमन्त्रीबाट भएको निर्देशन कार्यान्वयनका लागि संगठन पूर्ण प्रतिबद्ध रहेको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij