वेबटिभी खबर
बाग्लुङ । राष्ट्रपति रामचन्द्र पौडेल बाग्लुङको पञ्चकोटमा पुगेका छन । हिजोदेखि यहाँ प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति पञ्चकोट पुगेका हुन ।
उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए । राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बाग्लुङ पुगेका छन ।
पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भएको छ । बुधबारदेखि सुरु भएको महायज्ञमा राष्ट्रपति पौडेलले अर्चना गर्ने कार्यक्रम छ । पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यहाँ महाघण्ट राखिएको हो ।
२०७१ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । गत साता महाघण्टलाई पञ्चकोट ल्याइएको थियो । पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन ।
पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्ट राखिएको छ । महाघण्ट बनाउन करिब दुई करोड खर्च लागेको अनुमान गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij