Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

६ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ व्यक्ति पक्राउ

६ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ व्यक्ति पक्राउ

  • 196
    SHARES
  • ६ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ व्यक्ति पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६७ पुरुष र २२ महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् ।

    एक सय ४९ व्यक्तिलाई अभियोग लागेको छ । देशभरबाट दुई सय ३६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये एक सय ५० महिला, २६ पुरुष र ६० बालिका रहेका छन् । नेपाल आन्तरिक र सीमा वारिपारि हुने मानव बेचबिखनबाट अति प्रभावित रहेको छ । 

    मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराध नियन्त्रण गर्न नेपाल प्रहरीमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले विशिष्टिकृत एकाइका रुपमा काम गर्दै आएको छ । सम्बन्धित अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममुखी बनाउन ब्युरोले सक्रिय एवं प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । 

    वैदेशिक रोजगारका लागि नेपालबाट ठूलो संख्यामा भारत, मलेसिया, कतार, साउदी अरब, लिबिया, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स, अमेरिका तथा विभिन्न युरोपेली र अफ्रिकन देशलगायत अन्य विभिन्न मुलुकमा नेपाली काम गर्ने वा अवैधानिक बसोबासको प्रलोभनमा परी बेचबिखनमा पर्ने गरेका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । 

    ‘यही तथ्य र संवेदनशीलतालाई मनन गरेर नेपाल प्रहरीले यस्ता अपराधको अनुसन्धानलाई विशेष जोड दिएको छ, अनुसन्धानलाई अझै प्रभावकारी बनाउन विद्यमान मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा समयसापेक्ष परिमार्जनको आवश्यकता महसुस गर्दै परिमार्जनका लागि पहल भइरहेको पनि छ,’ ढकालले भने । 

    विसं २०७५ मा मानव बेचबिखन अनुसन्धान ब्युरोको स्थापनापछि हालसम्म जम्मा एक हजार एक सय १८ जना पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको तथ्यांकअनुसार पक्राउ पर्नेमा सात सय ८३ जना पुरुष र तीन सय ३५ महिला छन् । सो अवधिमा एक हजार नौ सय १९ जनालाई अभियोग लागेको छ । सोही अवधिमा जम्मा आठ सय ९२ मुद्दा दर्ता भएका छन् ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोले मुख्यतः मानव बेचबिखन तथा ओसारपसार अपराधको अनुसन्धान तथा नियन्त्रण र पीडितको उद्धार गर्दछ । समस्या सहजीकरण, समन्वय तथा सहकार्य, जनचेतना एवं सशक्तीकरणका कार्यक्रम सञ्चालन, दक्ष जनशक्ति तथा प्रविधिको विकासलगायत काम गर्ने गरेको ब्युरोका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । 

    देशभित्र आन्तरिकरुपमा हुने मानव बेचबिखन तथा ओसारपसार र अन्तरदेशीयरुपमा हुने त्यस्ता घटनाको प्रभावकारी अनुसन्धान गर्दै संलग्न व्यक्ति र समूहलाई कारबाहीको दायरामा ल्याइएको प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij