Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

मदन पुरस्कार विजेता ओझालाई सम्मान

मदन पुरस्कार विजेता ओझालाई सम्मान

  • 204
    SHARES
  • मदन पुरस्कार विजेता ओझालाई सम्मान

    कैलाली । विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न स्घसंस्थाले सम्मान गरेका छन् ।

    ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य संघ, हाम्रो पत्र डटकमलगायतका संघसंस्थाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

    लेखक ओझाले ऐँठन एउटा युद्ध उपन्यास भएको बताए । उनले ऐँठन उपन्यास महाभारत, विश्व युद्ध र नेपालको सशस्त्र युद्धलाई समेटेर लेखिएकाले यो एउटा युद्ध उपन्यास भएको बताए ।

    उनले भने, ‘मैले युद्धपछि पीडामा रहेकाहरुलाई देखेँ, भेटेँ, उनीहरुको मानसिक अवस्था विचलित भएको पाएँ । विश्वकै कुरा गर्दा पनि हतियार, हिंसा र द्वन्द्वमा धेरै खर्च भइरहेको छ । यो लगानी विकासमा गर्न सकेको भए विश्व अर्कै हुन्थ्यो भन्ने मैले महसुस गरेँ । गाउँ गाउँमा गएर पीडामा रहेकाको कथा समेटेको छु ।’

    लेखक ओझाले पहिले कथाका लागि तयार गरिएको पाण्डुलिपीलाई अध्ययन गर्दै जाँदा उपन्यास तयार भएको र उपन्यासको पूर्णरुप दिन पाँच वर्ष लागेको बताए ।

    उनले भने, ‘कष्ठकररुपमा बितेका पाँच वर्षपछि अहिले राहत महसुस भएको छ ।’

    उनको यसअघि ‘ऐलानी’ उपन्यास पनि चर्चामा आएको थियो । ऐलानी वादी समुदायका कथा समेटिएको पुस्तक थियो । त्यो उपन्यासविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो ।

    उनले भने, ‘इतिहासमा साहित्यिक उपन्यासविरुद्ध यो पहिलो मुद्दा थियो ।’

    टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक केशरबहादुर कुँवरले ओझाको पुस्तकले पुरस्कार मात्र प्राप्त नभई टीकापुरलाई चिनाउने र पुरस्कृत गर्ने काम गरेको बताए ।

    उनले भने, ‘यो टीकापुरका लागि गौरवको कुरा हो, टीकापुरलाई नै पुरस्कृत गर्नुभएको छ । यस्ता सर्जकलाई हौसला दिनुपर्छ ।’


    वीरेन्द्र विद्यामन्दिर माविका सहप्राचार्य डा योगेन्द्रप्रसाद बजगाईले आफूले पढाएको विद्यार्थीले लेखेको पुस्तकले देशकै सर्वोत्कृष्ट मानिने मदन पुरस्कार प्राप्त गरेकामा आफूलगायत विद्यालयले गर्व महसुस गरेको बताए ।

    उनले भने, ‘विद्यालय परिवार खुसी छ, ओझा हाम्रो विद्यार्थी हो भन्दा विद्यालय हर्षित छ । उहाँको लेखन क्षमता थप सशक्त भएर अघि बढोस् ।’

    लेखक ओझाको पहिलो कृति ‘एक पाइला आकाशमा’ गजल सङ्ग्रह २०७० सालमा प्रकाशित भएको थियो । त्यसपछि उनले २०७४ सालमा ‘ऐलानी’ उपन्यास लेखेका थिए ।

    विसं २०४८ जेठ २ गते अछामको साविक दर्ना गाविसमा जन्मिएका ओझाको बाल्यकाल टीकापुरमा बित्यो । उनले माध्यमिक तहसम्मको शिक्षा टीकापुरबाटै प्राप्त गरेका छन् । पछि काठमाडौँ गएर ओझाले आफ्नो लेखनलाई अगाडि बढाउँदै व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij