Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

सुगाको बथानले मकैबाली सखाप, किसान चिन्तित

सुगाको बथानले मकैबाली सखाप, किसान चिन्तित

  • 218
    SHARES
  • सुगाको बथानले मकैबाली सखाप, किसान चिन्तित

    कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर सखाप पार्न थालेको छ ।

    सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका हुन । बथानका बथान सुगा बिहान, साँझको समयमा आएर मकैबालीमा पसेर नोक्सानी गर्न थालेको मध्यवर्ती क्षेत्रको शुक्लाफाँटा नगरपालिका-२ का किसान गंगा बोहराले बताइन् ।

    ‘दश कठ्ठा जग्गामा बर्खे मकैबाली लगाएको थिएँ’, बोहराले भनिन्, ‘मकैमा घोगा लाग्न सुरु भएपछि सुगा खेतमा छिर्न थालेका हुन्, पाक्न नपाउँदै पूरै बाली सखाप पारेका छन् ।’

    सूर्योदय हुनुअघि नै सुगा खेतमा छिर्ने भएकाले थाली ठटाएर सुगा भगाउने गरेको उनले जानकारी दिइन् । बोहराका अनुसार बादल लागेको दिन र साँझपख सुगाले मकै खान बढी मन पराउने गरेका छन ।

    ‘एक हुल भगाउँछौँ अर्को हुल खेतमा बसेर मकै खान सुरु गर्छ, एकछिनमै पूरै मकैका घोगा खाएर फर्कन्छन्’, सिमलफाँटाका रामबहादुर चौधरीले भने, ‘सुगा भगाउनकै लागि एक जनाको ड्युटी खेतमै दिनभर हुन्छ । दिउँसो सुगाले मकैबाली खाएर हैरान पार्छन्, राति निकुञ्जबाट छिर्ने बँदेल खेतमा छिरेर बचेको मकै खाएर फर्कन्छन् ।’

    खेतमा छरेको मकैको बीउसमेत उठाउन मुस्किल हुन थालेको चौधरीको भनाइ छ । सुगाकै कारण मकै खेती गर्दा खनजोत, सिँचाइ, मलखादको लागत खर्च नउठ्ने भएकाले अधिकांश किसानले बर्खे मकैबाली लगाउन छाड्दै गएका छन ।

    मध्यवर्ती क्षेत्रका किसानले मकैको सट्टा उखुबाली, धानबालीलगायतको खेती गर्न थालेका छन । पहिला मध्यवर्ती क्षेत्रको कालागौंडी, रानीपुर, ढकनिया, जोनापुर, पिपलाडी, असैना, सिमलफाँटा, दैजी अधिकांश किसानले मकैबाली लगाउने गरेका थिए ।

    सुगाकै कारण हाल नगन्य मात्रामा मात्रै किसानले मकैबाली लगाउने गरेका छन । स्थानीय किसान नरेन्द्र नेगीले सुगाले गरेको मकैबालीमा क्षतिको मूल्यांकन गरी किसानलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।

    निकुञ्ज कार्यालयलाई क्षतिपूर्तिका लागि जनाउँदै आए पनि सुनवाइ नभएको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij