वेबटिभी खबर
मनहरी । मकवानपुरमा पहिलो पटक दार पकेट क्षेत्र घोषणा गरिएको छ ।
भीमफेदी गाउँपालिका–१ मा रहेको दरबारडाँडा सामुदायिक वन उपभोक्ता समूहको करिब दुई हेक्टर क्षेत्रफल जमिनमा १ हजार ४५० वटा दारको बिरुवा रोप्ने लक्ष्य लिइएर पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।
डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनामा भएको दार वृक्षरोपणअन्तर्गत पहिलो चरणमा आठ सय वटा विरुवा र दोस्रो चरणमा ६५० वटा विरुवा रोप्ने कार्यक्रम रहेको आचार्यले बताए ।
आज बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञप्रसाद दाहाल र गाउँपालिकाका अध्यक्ष हिदम लामा उपस्थितिमा दार पकेट क्षेत्र घोषणा गरिएको हो ।
मकवानपुरको चिनारीका रूपमा रहेको दारको ठेकी लोप हुँदै गएपछि मकवानपुरको विभिन्न स्थानमा दारको वृक्षारोपण कार्यलाई डिभिजन वनले तीव्र पार्दै आइरहेको छ ।
मकवानपुरको पहिचान बोकेको दारको ठेकीलाई पुनःजीवन दिने उद्देश्यले दारको बिरुवा लगाउने अभियानमा लागिएको प्रमुख आचार्यले बताए ।
पछिल्लो समय दार लोपोन्मुख हुने अवस्थामा पुगेकाले पनि दार वृक्षरोपणमा सबै सामुदायिक वनकर्मीहरू लाग्नुपर्ने उनले बताए । यसअघि बकैया गाउँपालिका-१२ चपकीमा पनि एक हजार दारको विरूवा रोप्ने काम भइसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij