वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभा विघटन र वैकल्पिक सरकार गठनका लागि विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमाथि बुधबारदेखि निरन्तर सुनुवाई हुँदैछ । ती विषयमा परेका ३० वटा रिटमाथि संवैधानिक इजलासमा बुधबारदेखि सुनुवाई भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख निवेदक भएको र विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यहरुले दायर गरेको रिटमा निरन्तरर सुनुवाई हुन लागेको छ । ७ जेठमा बहुमत सदस्यको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउँदा पनि देउवालाई प्रधानमन्त्री नियुक्त नगरिएको भन्दै सर्वोच्चमा दर्ता भएका तीसवटा रिटमध्ये सबैभन्दा पहिला देउवा प्रमुख निवेदक भएको रिटउपर सुरुवाई हुनेछ ।
संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिलले सुरुमा १२ घण्टा र पछि जवाफी बहसका लागि ३ घण्टा गरी १५ घण्टा बहस गर्न पाउनेछन् । त्यस्तै विपक्षीलाई पनि १५ घण्टाको समय तोकिएको छ ।
यसअघि जेठ २३ गते प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरासहित वरिष्ठताका आभारमा गठित दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरी रिटमा विपक्षी बनाइएका सरकारपक्षलाई बुधबासम्म जवाफ पेश गर्न समय दिइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र विघटित प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले यसअघि नै जवाफ बुझाइसकेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका वरिष्ठ नेता माधव नोपलपक्ष, जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाका १४६ जना सांसदले १० जेठमा सर्वोच्चमा पुगेर रिट पेश गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij