वेबटिभी खबर
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको जानकारी दिए ।
उनले केही समस्याका बाबजुत आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गरे ।
उनले भने, ‘अर्थतन्त्रमा केही समस्या आएका छन् । विविध कारणबाट आएका यी समस्याको समाधानको आवश्यकता छ । राज्य संयन्त्रबाट जहाँ कमी कमजोरी भएको छ त्यहाँ सुधारका लागि निरन्तररुपमा लागिपरेका छौँ । केही सीमितताका बाबजुद अर्थतन्त्रलाई लयमा ल्याउने कोशिस भइरहेको छ ।’
पर्यटक भित्रिने क्रम बढिरेहको, विदेशी मुद्राको पर्याप्त सञ्चिति र अन्य आर्थिक गतिविधि अघि बढाउनका लागि भएका समस्यालाई सहजीकरण गर्नेतर्फ मन्त्रालय लागिपरेको उनले जानकारी दिए ।
राजस्व संकल्प अपेक्षाअनुसार नबढे पनि तुलनात्मकरुपमा गत आर्थिक वर्षभन्दा सन्तोषजनक रहेको अर्थमन्त्री डा.महतको भनाइ छ ।
राज्यका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार सहजीकरण गर्न सरकार तयार रहेको बताए । अर्थतन्त्र सुधारोन्मुख बनाउन सकारात्मक ‘डिस्कोर्स’को आवश्यकता भएको उनले बताए ।
उनले भने, ‘राज्य संयन्त्रका सबै अङ्गले एउटै लयमा एउटै लक्ष्यका लागि काम गर्न नसक्दा जानेर नजानेर गर्न नसक्दा पनि समस्या आएका छन् । निजी क्षेत्रमा लगानीको जोखिमलाई वास्तविकताको धरातलमा रहेर यथार्थ मूल्यांकन गर्न आवश्यक छ ।’
निजी क्षेत्रको गतिविधिलाई धेरै माइक्रो म्यानेजमेन्ट गर्नतर्फ लाग्दा समस्या आउने उल्लेख गर्दै उनले बृहत् नीतिगत ‘फ्रेमर्वक’ भित्र कार्यान्वयनमा लग्नुको महत्वबारे स्पष्ट पारे ।
यस्तै निजी क्षेत्रले आत्मनियमन अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए । छाता संगठनले एउटा मूल्य र मान्यतामा आधारित रहेर काम गर्न आत्म नियमनकर्ताको भूमिका निर्वाह गर्न मन्त्री डा.महतको सुझाव छ ।
वैदेशिक सहयोग लिदा नेपालको आवश्यकता र प्राथमिकताका आधारमा मात्र लिने उनले प्रतिबद्धता व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएको सुझाबलाई कार्यान्वगन गर्न सरकारसँग माग गरे ।
उनले सरकारी निकामनकारी निकायबाट प्रवाह हुने सूचनालाई सबैको पहुँचमा सहज रुपमा पु¥याउनसमेत अर्थमन्त्री डा.महतसमक्ष सुझाव प्रस्तुत गरे ।
नेपाल उद्योग परिसंघका कार्यबाहक अध्यक्ष वीरेन्द्रप्रसाद पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खस्कदो अर्थतन्त्रलाई सुधार गर्न एकजुट भएर अघि बढन् आह्वान गरे ।
कार्यक्रममा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले नविन प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रयोग पत्रकारिताका लागि चुनौती बन्ने बताए ।
उनले इमान्दारपूर्वक व्यावसायिक पत्रकारिता गर्न सुझाव दिँदै सेजनको नेतृत्व चयन निष्पक्ष र स्वच्छ रुपमा सम्पन्न गर्न सुझाव दिए ।
यस्तै सेजनका पूर्वअध्यक्षहरु गोकर्णराज अवस्थी, भीम गौतम र पुष्पराज आचार्य, नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीलगायतले सेजन र समग्र पत्रकारिताको शुद्धिकरणबारे आ–आफ्नो धारणा व्यक्त गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij