वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट मन्त्री बनेका ११ जनालाई मंगलबार सर्वोच्च अदालतले पदमुक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूप्रति सहानुभूति प्रकट गर्दै आफू साथमा भएकाे बताएका छन् । जसपा अध्यक्ष महन्थ ठाकुरपक्षका ११ जना २१ र २७ जेठमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्म बनेका थिए ।
प्रतिनिधिसभामा बहुमत जुटाउन नसकेका प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्ने संवैधानिक अधिकार नभएको भन्दै मंगलबार सर्वोच्चले मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि सबै मन्त्रीहरु पदमुक्त भएका छन् ।
सत्तासाझेदार बन्दै सरकारमा आएको जसपा ठकुरपक्षका उपप्रधानमन्त्रीसहित मन्त्रीहरु १७ दिनमै बाहिरिनु परेपछि प्रधानमन्त्री ओलीले आफू पनि ती मन्त्रीहरुसँगै रहेको भन्दै ढाडस दिएका छन् । सर्वोच्चको आदेशले सरकारकारबाट बाहिरिएका मन्त्रीहरु साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेका थिए ।
अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले उनीहरुलाई सर्वोच्चको आदेशबाट धेरै तरंगित नहुन र उत्तेजक प्रतिक्रिया नदिन आग्रह गरेका छन् । बहिर्गमनमा परेका जसपा र एमालेका अधिकांश निवर्तमान मन्त्रीहरु हतास मुद्रामा थिए ।
बालुवाटारमा बहालवाला मन्त्रीहरु र एमालेका शीर्ष नेता पनि थिए । ‘अन्तरविरोधपूर्ण हुँदाहुँदै पनि अदालतको आदेशको हामीले सम्मान गर्नुपर्छ । ५ जना मन्त्रीले २० वटा मन्त्रालय हाँक्न सम्भव हुँदैन भन्ने सबैलाई थाहा छ । यो अन्तरिम आदेश भएकाले सर्वोच्चले फैसलामा सच्याउँछ होला,’ प्रधानमन्त्री ओलीका सचिवालयका एक सदस्यले ओलीको भनाइ उधृत गर्दै भने, ‘यसमा तपाईंहरु चिन्ता नलिनुस्, म तपाईंहरुसँगै छु ।’
सो भेलामा ओलीले प्रतिनिधिसभाको विघटन संविधानअनुसार नै गरिएको दाबी गरेको ती सदस्यले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij