Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

कोशी प्रदेशमा राप्रपाले सघाउने कुरा असम्भव : अध्यक्ष लिङ्देन

कोशी प्रदेशमा राप्रपाले सघाउने कुरा असम्भव : अध्यक्ष लिङ्देन

  • 199
    SHARES
  • कोशी प्रदेशमा राप्रपाले सघाउने कुरा असम्भव : अध्यक्ष लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताएका छन ।

    यूएई र साउदी अरबको भ्रमणबाट आज स्वदेश फर्किएका अध्यक्ष लिङ्देनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग यस्तो बताएका हुन ।

    लिङ्देनले भने ‘कतिपय ठाउँमा जिम्मेवार व्यक्तिले सभामुख र एउटा मन्त्री लिने र राप्रपाले अहिलेको गठबन्धनलाई कोशी प्रदेशमा सघाउने टुंगो लाग्यो भन्ने जस्ता प्रचार भए । प्रक्रियाको हिसाबले नै अब राप्रपाले चाहेर पनि सहयोग गर्ने चरण नै समाप्त भइसकेको छ । त्यो झुट कुरा हो ।’

    संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसेर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको अध्यक्ष लिङ्देनले बताए ।

    लिङ्देनले भने, ‘अहिलेको अवस्थामा सभामुख फालाफाल छ । सभामुख लिन कसैसँग कुनै सहमति आवश्यक पनि छैन, हामीले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेनको सहमति भएको होइन ।’

    उनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोड्न नमिल्ने जिकिर गरे । लिङ्देनले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीको प्रस्ताव आएकोसमेत जानकारी गराए ।

    लिङ्देनले भने, ‘सभामुख र मन्त्री प्राथमिकताको विषय होइन । हामीले अहिले चाह्यौँ भने सत्ता गठबन्धनबाट मुख्यमन्त्री नै प्राप्त गर्न सक्ने गणितीय अवस्था छ।’

    अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेन नगरेको र आफूहरुको दलको हैसियतअनुसार समिति सभापति लिएको स्पष्ट पारे ।

    पुस १० को गठबन्धनमै पनि बाग्मती र कोशीको सभामुख राप्रपाले लिने सहमति भए पनि त्यहाँको अंक गणितलाई हेरेर आफूहरुले नलिएको उनको कथन छ । यसैगरी अध्यक्ष लिङ्देनले देशको समसामयिक राजनीतिक परिस्थितिमा बहुसङ्ख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको टिप्पणी पनि गरे ।

    उनले बहुसङ्ख्यक नेपाली जनताको आस्थामा चोट पुग्नेगरी भइरहेको क्रियाकलापमा सरकारी उदासीनता चिन्ताको विषय भएको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij