वेबटिभी खबर
नयाँ दिल्ली । कोरोना भाइरस महामारीको दोस्रो लहरसँग संघर्ष गरिरहेको भारतले देशभित्रै खोप उत्पादनको गति बढाएको छ । अब भारतले नोभाभाक्सको कोरोना खोप आफैं उत्पादन गर्ने तयारी गरिरहेको छ । यो खोप अक्सफोर्ड-एस्ट्राजेनेकाको कोभिसिल्ड उत्पादन गरिरहेको पुणेको सेरम इन्स्टिच्युटले निर्माण गर्ने भएको छ ।
कम्पनीका अनुसार हालै अमेरिकामा भएको नोभाभ्याक्स खोपको अन्तिम चरणको क्लिनिकल परीक्षणमा ९० प्रतिशत प्रभावकारी रहेको पाइएको छ । भारत सरकारले घरेलु कम्पनी बायोलोजिकल इ लाई पनि कोरोनाविरुद्धको ३० करोड डोज खोपका लागि अर्डर दिएको छ ।
भारतमा अहिलेसम्म तीन वटाः कोभिसिल्ड, कोभ्याक्सिन र स्पुतनिक भिको २६ करोड डोज खोप लगाइसकिएको छ । भारत सरकारले यस वर्षको अन्त्यसम्म सबै नागरिकहरूलाई कोरोना खोप लगाउने लक्ष्य राखेको छ तर भ्याक्सिनको अभावका कारण खोप अभियान केही सुस्त भएको छ ।
भारतमा अहिले काेभिसिल्ड र काेभ्याक्सिन मात्र उत्पादन भइरहेकाे छ । गत वर्षको सेप्टेम्बरमा अमेरिकी औषधि कम्पनी नोभाभ्याक्सले दुई अर्ब डोज बनाउन सेरम इन्स्टिट्युटसँग सम्झौता गरेको थियो । सेरमका कार्यकारी अधिकारी अदार पुनावालाका अनुसार भारतमा उत्पादन हुने यस खोप कोभोभ्याक्सको नामबाट सेप्टेम्बरसम्म प्रयोगका लागि तयार हुन सक्छ ।
बायोलोजिक इले उत्पादन गर्ने खोप अमेरिकी कम्पनी डायनाभ्याक्स र बेलर कलेज अफ मेडिसिनको सहकार्यमा विकास गरिएको हो । तर अहिलेसम्म यसको नाम राखिएको छैन र इमरजेन्सी प्रयाेगका लागि अनुमति पनि पाएकाे छैन् ।
खोप अभियान भारतमा जनवरीदेखि सुरु भएको थियो र हालसम्म ३.५ प्रतिशत जनसंख्याले मात्र खोपका दुवै खुराक लिएका छन् भने १५ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् । कोरोना भाइरसको संक्रमणबाट भारत अमेरिकापछि विश्वमै सबैभन्दा प्रभावित मुलुक हो । त्यहाँ लगभग तीन करोड मानिस संक्रमित भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij