Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य

बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य

  • 203
    SHARES
  • बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य

    बैतडी । बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको छ । स्वास्थ्य कार्यालयले मुहानको पानी परीक्षण गर्दा आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको हो ।

    यहाँका खानेपानीका मुहानको पानी परीक्षण गर्दा ५० दशमलव आठ प्रतिशत मुहानको पानीमा दिसामा हुने ‘कोलिफर्म’ कीटाणु भेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

    स्वास्थ्य कार्यालयले जेठ र असारमा गरेको नमूना संकलन तथा परीक्षणमा आधाभन्दा बढी खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको हो ।

    प्रमुख भट्टले भने, ‘खानेपानीका मुहानको पानी परीक्षणका क्रममा दिसामा भेटिने ‘कोलिफर्म’ कीटाणु मुहानको पानीमा भेटिएको छ, जुन पिउन योग्य छैन ।’

    जिल्लाका सबै स्थानीय तहका नागरिकले नियमितरूपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्यांकीबाट नमूना संकलन गरी परीक्षण गर्दा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको हो ।

    स्थानीय बासिन्दाले नियमित प्रयोग गर्दै आएका दुई सय ६९ पानीका मुहानबाट नमूना संकलन गरी परीक्षण गर्दा एक सय ३६ वटा मुहानको पानी पिउनयोग्य नरहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    दशरथचन्द नगरपालिकामा ३४ वटा मुहानको नमूना संकलन गरी परीक्षण गर्दा ११ वटा खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ ।

    पुर्चौडी नगरपालिकामा ३० मध्ये १२, पाटन नगरपालिकामा २९ मध्ये १३, मेलौली नगरपालिकामा ३१ मध्ये १७ खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको हो ।

    यस्तै पञ्चेश्वर गाउँपालिकाका १८ मध्ये १४, शिवनाथ गाउँपालिकाका १८ मध्ये १२, सिगास गाउँपालिकाका ३७ मध्ये १०, सुर्नया गाउँपालिकाका २४ मध्ये १७ दोगडाकेदार गाउँपालिकाका २७ मध्ये १८ र डिलाशैनी गाउँपालिकाका २१ खानेपानीका मुहानबाट नमूना संकलन गरी परीक्षण गर्दा १२ वटा पानीका मुहानमा कोलिफर्म भेटिएको छ ।

    कोलिफर्म भेटिनु भनेको पानीमा दिसा रहेको, प्रदूषित र पिउनयोग्य नरहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.दीपेश श्रेष्ठले जानकारी दिए ।

    ‘कोलिफर्म भएको पानी पिउनाले झाडापखाला, टाइफाइड, हैजा र आउँ जस्ता विभिन्न सरुवा रोगको संक्रमण बढ्ने सम्भावना हुन्छ’, प्रमुख डा.श्रेष्ठले भने, ‘कोलिफर्म भएको पानीले झाडापखाला, टाइफाइड, हैजा र आउँ जस्ता रोग फैलाउँछ ।’

    कोलिफर्म भेटिएको मुहानको पानी उमालेर, शुद्धीकरण तथा फिल्टर गरेर मात्रै पिउन आग्रह गरिएको छ ।

    यसका साथै खानेपानीका मुहान वरिपरि सरसफाई तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मुहान मिसिन गई दूषित हुने गरेकाले नियमित सरसफाई गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij