वेबटिभी खबर
काठमाडौं । नेपालमा मनसुन सक्रिय रहेकाले भारी वर्षाका कारण खोलानालामा बाढी र विभिन्न स्थानमा पहिरोको त्रास कायमै छ । शुक्रबार बिहानको मापनअनुसार कोशी, नारायणी, पश्चिम राप्ती, कर्णाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको जल तथा मौषक पूर्वानुमान महाशाखाले जनाएको छ ।
यता नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सतर्कताभन्दा तलै हुने महाशाखाले जानकारी दिएको छ । कोशी तटीयक्षेत्रका केही स-साना सहायक नदीमा क्षणिक मध्यम साथै भारी वर्ष भई बहाव बढ्ने र केही स-साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह नाघ्न सक्ने बताइएको छ ।
यस्तै कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव बढ्दो हुने र केही स-साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । शुक्रबार प्रदेश १ को इलाम झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, ताप्लेजुङ, संखुवासभा, प्रदेश २ को सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बागमती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जाका मुख्य तथा सहायक नदीमा पानीको बहाव बढ्ने महाशाखाले जानकारी दिएको छ ।
यस्तै लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालिकोट, हुम्ला, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भएर बहने स-साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाव (फ्ल्यास फ्लड) हुनसक्ने महाशाखाको पूर्वानुमान रहेको छ । ०७४ सालमा स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिधिहरूले विकासका नाममा जथाभावी डोजर चलाएर प्राकृतिक सम्पदाको दोहन गरेपछि बाढी र पहिरोको जोखिम साविकभन्दा बढेको विज्ञहरुको तर्क छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij