वेबटिभी खबर
जुम्ला । हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ । तिला गाउँपालिका-२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको बताए ।
लम्पी स्किन रोगको संक्रमणबाट लिही गाउँका करिब ३० वटा गाईगोरु मरिसकेका छन । रोगलाई नियन्त्रण गर्नेका लागि गाउँपालिकालाई आवश्यक औषधी उपचारको व्यवस्थापनका लागि अनुरोध गरिएको नेपालीको भनाइ छ ।
तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले पालिकाका केही वडामा लम्पी स्किन रोगबाट गाईगोरु मरेको जानकारी आएको भन्दै रोगबाट बढी प्रभावित क्षेत्रलाई प्रथामिकतामा राखिएको बताए ।
उनले ती क्षेत्रमा तत्कालका लागि पशु सेवा कार्यालय जुम्लाको सहकार्यमा औषधी ल्याई पशु प्रविधिकलाई स्थलगतरूपमा खटाई उपचार सुरु गरिएको जानकारी दिए । गाउँपालिका वडा नं-१ रारामा पनि लम्पी स्किन रोग फैलिएको छ । उपचार गर्ने अहिलेसम्म गाउँमा कोही पनि नआएको स्थानीय पराने बस्नेतको भनाइ छ ।
यो रोग लागेका गाईभैँसीमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, मुख, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोडहरू सुक्ने जस्ता लक्षण देखा पर्छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार जुम्लाका आठवटै स्थानीय तहका लम्पी स्किन रोग देखा परेको छ । जिल्लामा सबैभन्दा पहिला कनकासुन्दरी गाउँपालिका-४ मा उक्त रोग देखा परको थियो । उक्त स्थानमा हाल उपचारपछि रोग नियन्त्रण आएको छ ।
पछिल्लो समय तातोपानी, सिञ्जा, तिला, गुठिचौर र चन्दननाथ नगरपालिकामा लम्पी स्किन रोग फैलिएको स्थानीय तहबाट जानकारी आएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाइ छ ।
संक्रमणलाई रोकथाम गर्नेका लागि चन्दननाथ नगरपालिका र गुठिचौर गाउँपालिकाले गाईभैँसीलाई लक्ष्णअनुसार उपचार गरेका छन । तिलामा देखा परेका संक्रमित गाईगोरु र भैँसीलाई कार्यालयबाट थप औषधी र ५५ वटा खोप पठाएको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।
स्थानीय तहका प्रमुखसँग छलफल गरेर चाहिने औषधी खरिद गरी पालिकको पशु शाखाबाट गाउँ-गाउँमा पुगेर उपचार गर्ने सुझाव दिएको कर्णाली प्रदेश पशुपक्षी विकास निर्देशनालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij