Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

‘डायलासिस’ उपकरण व्यवस्था मिलाउन माग

‘डायलासिस’ उपकरण व्यवस्था मिलाउन माग

  • 175
    SHARES
  • ‘डायलासिस’ उपकरण व्यवस्था मिलाउन माग

    तनहुँ । तनहुँको आँबुखैरेनी अस्पतालमा ‘डायलासिस’ उपकरण व्यवस्थाका लागि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ ।

    आँबुखैरेनी गाउँपालिका-३ का वडाध्यक्ष दिनेश केसीले आइतबार कांग्रेस सभापति देउवालाई भेट गर्नुभइ सो आग्रह गरेका हुन् ।

    सो अवसरमा वडाध्यक्ष केसीले अस्पतालमा रक्त सञ्चारका लागि पनि आवश्यक उपकरणको व्यवस्था मिलाउन पहल गरिदिन सभापति देउवालाई आग्रह गरेका थिए ।

    सभापति देउवाले अस्पतालका लागि डायलासिस उपकरण व्यवस्थाका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई आग्रह गर्ने जानकारी दिएको वडाअध्यक्ष केसीले बताए ।

    ऑबुखैरेनी गाउँपालिकाले आगामी आव २०८०/८१ मा अस्पतालमै डायलासिस सेवा सुरु गर्ने जनाएको छ ।

    यसका लागि गाउँपालिकाले नीति तथा कार्यक्रममै यसलाई उल्लेख गरेको छ । गाउँपालिकाभित्र करिब २५ मिर्गौला पीडित रहेकाले उनीहरूलाई सहजरूपमा सेवा दिन अस्पतालमा डायलासिस सेन्टर स्थापना गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

    उनले भने, ‘यहाँका मिर्गौला बिरामीहरू भरतपुर, दमौली, पोखरासम्म पुगेर डायलासिस गर्नुपर्ने बाध्यता छ । तैपनि भनेको बेला समय नपाउँदा उहाँहरूलाई निकै दुःख भइरहेको छ । त्यस्तो अवस्थाका अन्त्यका लागि आगामी आर्थिक वर्ष आँबुखैरेनीमा नै यो सेवा दिनेछौँ ।’

    हाल तनहुँमा दमौली अस्पतालमा मात्रै डायलासिस उपकरण सञ्चालनमा छ । मिर्गौला पीडितको संख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ ।

    दमौली अस्पतालमा ११ उपकरण रहेकामा बिग्रिएर हाल चार वटाले मात्रै सेवा दिइरहेको छ । उपकरण थोरै हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या हुने गरेको छ ।

    स्वास्थ्य मन्त्रालयले दमौली अस्पताललाई दुई  नयाँ उपकरण पठाएको छ । प्रदेश सरकारमार्फत दमौली अस्पतालमा दुई उपकरण आइपुगे पनि जडान हुन बाँकी रहेको छ ।

    चारवटा उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने अवस्था रहेको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए ।

    उनका अनुसार केन्द्रमा हाल डायलासिस सेवा लिने कूल संख्या ५० जना रहेका छन् । तर अझै ३०  मिर्गौला पीडित डायलासिसका लागि पालो पर्खिंदै छन् ।

    गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने पालिका अध्यक्ष चुमानले बताए ।

    उनले भने, ‘ठूला शल्यक्रिया गर्नुपरेमा महिना एक पटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ । केही शल्यक्रिया भने नियमितरूपमा अस्पतालमै हुनेछ ।’

    गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई महिनाको एकपटक घरमै पुगेर सेवा प्रदान गर्ने नीति लिएको छ ।

    अध्यक्ष चुमानले महिलाको प्रजनन् स्वास्थ्य, पाठेघर क्यान्सर परीक्षण कार्यक्रमलाई जोड दिइएको बताए ।

    गाउँपालिकाभित्रका सर्वसाधारणलाई क्यान्सर रोग लागेमा ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको उनले उल्लेख गरे ।

  • सम्बन्धित विषय:

  • # डायलासिस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij