वेबटिभी खबर
काठमाडौं । बिहीबार मध्याह्नदेखि अवरूद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका-५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे खसेको पहिरोले अवरुद्ध सडक शुक्रबार साँझ खुलेको हो ।
पहिरो पन्छाएसँगै सडक एकतर्फी सञ्चालनमा आएको हो । साँझ ५ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा आएसँगै केही बेरमा ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले ठूलो पहिरो पन्छाइसकिएको र खसेका पहिरा पन्छाउँदै सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम सुरु गरिएको थियो ।
बेलाबेलामा माथिबाट ढुंगा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उनको भनाइ छ । दुई वटा एक्साभेटर र दुई वटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन् ।
सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन । सडक एकतर्फी सञ्चालनमा आए पनि सवारीको लामो लाइन भएकाले वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे ।
चौबिस घण्टाभन्दा बढी सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधनका यात्रु गन्तव्यतर्फ लागेका छन् । एक तथ्यांकअनुसार उक्त सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij