वेबटिभी खबर
ताप्लेजुङ । ताप्लेजुङका बाढी पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइएको छ । सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो ।
कोशी प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री र टेन्ट तथा रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराएका त्रिपाल, कम्बल, भाँडाकुँडासहितका सामग्री पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् ।
मेहेलेमा बाढी र पहिरोबाट विस्थापित बनेका एक सयभन्दा बढी परिवार स्थानीय निलगिरि माध्यमिक विद्यालयमा आश्रय लिएर बसेको स्थानीय कमल कडरियाले बताए ।
शनिबारदेखि वर्षासँगै आएको बाढी र पहिरोमा परी उक्त ठाउँका तीन जनाको ज्यान गएको छ भने एकै परिवारका तीन बेपत्ता छन । पहिरोले स्वास्थ्य चौकीको भवन पुरेपछि औषधी अभाव भएको छ । केही औषधी पुरिएकै ठाउँबाट निकालेर घाइतेको प्राथमिक उपचार गरिएको थियो ।
यसैबीच मृतकका परिवार तथा आफन्त र बाढी पहिरोबाट प्रभावित अन्य परिवारलाई क्षतिको विवरण हेरी मापदण्डअनुसार राहत उपलब्ध गराउन पहल भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
मंगलबार बसेको बैठकले राहत र उद्धारका लागि विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन आग्रहसमेत गर्ने निर्णय गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij