वेबटिभी खबर
चितवन । भरतपुर महानगरपालिका-१३ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबार एक कार्यक्रमबीच वडालाई बालमैत्री घोषणा गरेका हुन् ।
वडाध्यक्ष प्रकाश दवाडीलाई महानगर प्रमुख दाहालले घोषणापत्र हस्तान्तरण गर्दै बालमैत्री घोषणा गरेका हुन् । बालमैत्री बन्नका लागि आवश्यक ५१ सूचक पूरा गरेसँगै यस वडालाई घोषाणा गरिएको हो ।
वि.सं २०७६ सालमा भरतपुर महानगरको वडानम्बर १४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो । वडानम्बर-१३ महानगरको बालमैत्री घोषणा गर्ने दोस्रो वडा बनेको छ ।
भरतपुरलाई बालमैत्री नगर बनाउन वि.सं २०६८ सालदेखि नै अभियान थालिएको हो । आर्थिक वर्ष ०८३/०८४ मा महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ ।
बालबालिकालाई मूल प्रभाहिकरण गर्नुपर्छ भन्ने उद्देश्यले राज्यले दिगो विकास लक्ष्यमा समेत राखेको छ । सो महानगर प्रमुख दाहालले सिंगो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको बताए ।
भरतपुरलाई बालमैत्री बनाउन सडक मानवमुक्त पहिलो महानगर, पिटुसिटु, अटिजम विद्यालय, आधा दर्जन विद्यालयमा स्रोत कक्षालगायतको कार्य गरी बालमैत्रीतर्फ उन्मुख हुँदै गएको छ ।
उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताए । घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको जनाउँदै उनले यसका लागि वडावासी सबै जिम्मेवार बन्नुपर्ने बताए । बालमैत्री घोषणासँगै थप चुनौती रहेको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बालमैत्री घोषणा गरेर यसलाई कायम राख्न सधैँ सबै पक्ष क्रियाशील हुनुुपर्ने बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, विभिन्न वडाध्यक्ष, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij