Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

देउवा र प्रचण्ड नेपाल निवास पुगेपछि एमाले संस्थापनमा तरंग

देउवा र प्रचण्ड नेपाल निवास पुगेपछि एमाले संस्थापनमा तरंग

  • 745
    SHARES
  • देउवा र प्रचण्ड नेपाल निवास पुगेपछि एमाले संस्थापनमा तरंग

    काठमाडौं । एमालेबाट निष्काशित वरिष्ठ नेता माधव नेपालको कोटेश्वरस्थित निवासमा सोमबार (३१ जेठ) भएको नेतात्रयको भेटलाई लिएर एमाले संस्थापन पक्षका नेता क्षुब्ध बनेका छन् । एमाले एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताबीच संवाद प्रयासकाबीच नेपाल निवासमा सोमबार भएको सो भेटले एमाले संस्थापनमा तरंग उत्पन्न गरेको छ ।

    प्रधानमन्त्रीसमेत रहेका ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि थप बिच्किएका नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसहित विपक्षी गठबन्धन गठन गरेर ओली नेतृत्वको सरकारको विकल्प खोजीरहेका छन् ।

    यता ओली भने नेपालपक्ष एमालेबाट नबारिओस् तर आफ्नो ‘साइज’अनुसार एमालेमा बसोस् भन्ने चाहिरहेका छन् । यसका लागि उनले दोस्रो तहका नेतालाई सम्वादका लागि खटाइरहेका छन् । तर ओली–नेपाल एकता भइहाल्ने सम्भावना देखिएको छैन ।

    adhavprachandadeuwa.jpg

    कसले के भने ? 

    एमाले एकता सहमतिउन्मुख गइरहेको बेला देउवा र प्रचण्डसँग नेपालले निवासमै भेट गरेपछि एमाले नेताहरू क्षुब्ध बनेका हुन् । एमालेका नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन एमाले सक्ने योजनासहित बनाइएको दाबी गरेका छन् । 

    ‘अहिले नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन नेकपा एमालेलाई कमजोर बनाई समाप्त गर्नका लागि हो,’ उनले फेसबुकमा भनेका छन्,  ‘नेकपा एमालेका कोही नेता रनभुल्लमा आफ्नो घरमा आगो लगाएर खुसीयालीमा नरमाऊ ।’ उनले यस्तो कदम नसच्याए इतिहासले धिक्कार्नेप्रति नेतृत्वको ध्यानाकर्षण गराएका छन् । ‘यस्तो कामलाई इतिहासले धिक्कार्नेछु, उनले भनेका छन्, ‘पछि आँसु पुछ्नेवाला कोही नभेटिएला । नेपालको जय होस् नेकपा एमालेको जय होस् ।’

    एमाले नेता एवम् पूर्वसांसद पदम गिरीले पनि देउवा र दाहालको सक्रियताप्रति आशंका व्यक्त गरेका छन् । ‘एमालेको एकता कायम राख्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली जस्तो सुकै योगदान दिन तयार भएसँगै देउवा र प्रचण्डहरू माधव नेपालको घरमा गएर उक्साउने र एकता भाँड्ने कोसिस भएको छ,’ गिरीले लेखेका छन्, ‘अरूको पार्टी फुटाउन हिँड्ने कस्तो लोकतान्त्रिक अभ्यास हो ? कांग्रेसमाथि सधैं यो प्रश्न उठिरहनेछ ।’

    यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि उक्त भेटलाई एमाले सिध्याउने रणनीतिका रूपमा टिप्पणी गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij