Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

घर खर्च चलाउन मुख्य आयको स्रोत बाख्रापालन 

घर खर्च चलाउन मुख्य आयको स्रोत बाख्रापालन 

  • 215
    SHARES
  • घर खर्च चलाउन मुख्य आयको स्रोत बाख्रापालन 

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ धारापानीका बासिन्दाले बाख्रापालन गरी जीविका चलाउँदै आएका छन । परम्परागत रूपमा बाख्रापालन गरी स्थानीय बासिन्दाले घरायसी खर्च चलाउने गरेका हुन ।

    २२ परिवारको बसोबास रहेको धारापानीमा मुख्य आयको स्रोतका रूपमा बाख्रपालन रहेको छ । अधिकांश परिवारले १० देखि ५० वटासम्म बाख्रापालन गरेका छन ।

    बाख्रापालनबाट आएको रकमले घरायसी खर्च, बालबालिकाको विद्यालयको खर्च चलाउने गरेको बाख्रापालन गर्दै आएका जयलाल धामीले बताए ।

    केहीले बाख्राको आम्दानीबाट गाउँमै पसल थापेका भन्दै चुरे क्षेत्रको वनमा पर्याप्त चरन क्षेत्र भएकाले बाख्रापालन गर्न सहज भएको उनको भनाइ थियो ।

    ‘गाउँमा बसोबास गर्दै आएका बासिन्दाको घरबासका लागि मात्रै जग्गा रहेको छ’, धामीले भने, ‘जीविका चलाउनका लागि बाख्रपालन गर्दै आएका छौँ, परिवारका एक जनाले दैनिक बाख्रा चराउन जाने र खोरमा ल्याएर बाध्ने कार्यमा व्यस्त हुनुपर्छ ।’

    धामीका अनुसार खसीबोका पिकनिक मनाउन आउनेले समेत खरिद गरेर लैजाने गर्दछन् । अधिकांश खसी, बोका, बाख्रा काठमाडौंका व्यापारी गाउँमै पुगेर खरिद गरेर लैजाने गरेको मोहन सिंह धामीको भनाइ छ ।

    उनका अनुसार प्रत्येक परिवारले वर्षमा एक लाखदेखि तीन लाखसम्म बाख्रा बेचेर आम्दानी लिने गरेका छन । बाख्रा बिक्री गरेर आएको दुई लाख रकम खर्च गरी छोरालाई वैदेशिक रोजगारीमा पठाएको स्थानीय साइमले धामीले बताए ।

    ‘बाख्रा बेचेको पैसा खर्च गरी छोरालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाएको छु’,  साइमले भने, ‘छोराले मासिक रूपमा ७० हजार कमाउने गरेको छ ।’

    पहाडमा रहेको जग्गा पहिरोले लगेपछि तीन दशकअघि धारापानीमा बसेको स्मरण गर्दै साइमले बाख्रापालन गर्न थालेपछि परिवारको खर्च चल्दै आएको बताए ।

    साइमले बाख्रापालनको कमाईले घरमै किराना पसल र चिया नास्ताको पसल थापेका छन । उनका अनुसार यहाँका स्थानीयले बाख्रापालन गरेर अधिकांशले घरघडेरी जोडेका छन।

    बालबालिकालाई निजी विद्यालयमा छात्रावासमा राखेर पढाउन सकिएको रायभान ठगुन्नाले बताए । ‘बस्दै आएको जग्गामा लगाएको अन्नले तीन महिना सम्मका लागि खान पुग्दैन’, ठगुन्नाले भने, ‘बाख्रापालन गरी आएको रकमले अन्न खरिद गरी वर्षभरिको जोहो गर्दै आएका छौँ, लत्ताकपडा सबै बाख्रापालनको कमाईले खरिद गरेर लगाउने गरेका छौँ ।’

    धारापानीका बासिन्दाको आयको स्रोत नै बाख्रापालन भएको ठगुन्नाको भनाइ छ । बाख्रापालन परम्परागत तरिकाले गर्दै आएकाले आधुनिक तरिकाले बाख्रापालनका लागि तालिमको आवश्यकता भएको उनले बताए ।

    उन्नत जातका बाख्रापालन गर्नका लागि अनुदानको व्यवस्थाका लागि वडा कार्यालयमार्फत नगरपालिकालाई अनुरोध गरेको ठगुन्नाले उल्लेख गरे । ‘रोग-व्याधि आए गोठ नै रित्तो हुने गरेको छ’, ठगुन्नाले भने, ‘त्यसको रोकथामका लागि तालिमको आवश्यकता छ ।’

    चितुवालगायत हिंस्रक जनावरबाट बाख्रा जोगाउन भने चुरे फेदीको धारापानीका बासिन्दालाई हम्मेहम्मे छ । खोरमै पसेर चितुवाले बाख्रा मार्ने र खाने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij