Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

म्याग्दीको रातो च्याउ कोसेलीका रूपमा विदेश 

म्याग्दीको रातो च्याउ कोसेलीका रूपमा विदेश 

  • 282
    SHARES
  • म्याग्दीको रातो च्याउ कोसेलीका रूपमा विदेश 

    म्याग्दी । म्याग्दीको उच्च पहाडी क्षेत्रमा पाइने औषधीय गुणले भरिपूर्ण र स्वादिलो रातो च्याउ कोसेलीका रूपमा विदेशसम्म पुग्न थालेको छ ।

    रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देली र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले रातो च्याउलाई कोसेलीका रुपमा लैजाने गरेका छन् ।

    मालिका गाउँपालिका २ रुमकीबेलकुमारी सुनारले अमेरिका, जापान बेलायत, हङकङलगायत देशमा रहेका आफन्तलाई कोसेली पठाउन जंगली रातो च्याउ खरिद गर्न टाढा-टाढाबाट मानिस गाउँमा नै आउने गरेको बताइन् ।

    ‘विदेशमा रहेका आफन्तलाई कोसेली पठाउनका लागि दरवाङ बजारबाट २० किलो रातो च्याउको माग आएको छ, त्यसैका लागि तीन जनालाई दैनिक ज्याला दिएर लेकतिर च्याउ खोज्न पठाएकी छु’, सुनारले भनिन् ।

    उनले जंगलबाट खोजेर ल्याएको रातो च्याउलाई घाममा सुकाएर सुकुटी जस्तो बनाइ बिक्री गर्दै आएकी छन । ‘घुम्न आउने पर्यटकले पनि किनेर लैजान्छन्, अहिले च्याउको सिजन भएकोले प्रतिकिलो आठ सयदेखि एक हजार दुई सयसम्ममा बिक्री गरेका छौँ,’ उनले भनिन् ।

    म्याग्दीका गुर्जा, लुलाङ, मुदी, ओखरबोट, देवीस्थान, रुम लगायतका ठाउँका जंगलमा यो च्याउ पाइन्छ । जेठदेखि असोजसम्म उच्च लेकाली जंगलमा पाइने यो च्याउ शुद्ध प्राकृतिक च्याउ भएकाले यसको सेवनले विभिन्न किसिमका रोगसमेत निको हुने दरवाङका हीराबहादुर सिउथानी मगरको भनाइ छ ।

    लेकबाट दरवाङ बजारमा झारेपछि यो च्याउ खोसाखोस नै हुन्छ । स्वदेशी पाहुनाले पनि च्याउ किनेर कोसेली लैजाने गरेका र विदेशमा भएका आफन्तले माग गरेपछि ताजा च्याउ खरिद गरेर सुकाइ सुकुटी बनाउन लागेको दरवाङ बजारकी तिला बूढाथोकीले बताइन् ।

    उनले करिब २० किलो च्याउको सुकुटी बनाएर राखेकी छन । विदेशमा म्याग्देलीले सञ्चालन गरेका रेष्टुराँका मेन्युमा रातो च्याउ परिकारका रूपमा पाइन्छ । रातो च्याउ स्वादिलो, तागतिलो, पोषिलो र स्वस्थकर हुने भएकाले विदेश तथा देशका विभिन्न बजार क्षेत्रमा रातो च्याउको माग बढेको हो ।

    बेनीको कोसेली घरकी सञ्चालक पुष्पा पुनले म्याग्दी घुम्न आउने पाहुनाले रातो च्याउ किनेर लैजाने गरेका बताइन् । यसको आकार पङ्खा जस्तै फैलिएको हुन्छ । यो च्याउ अरु च्याउ जस्तो नरम र मीठो हुँदैन । यो काठ जस्तो साह्रो हुन्छ र स्वाद पनि तीतो हुन्छ ।

    त्यसैले यो च्याउ अन्य च्याउ जस्तै तरकारी बनाएर खान सकिन्न । सुकाएको रातो च्याउको टुक्रा पानीमा उमालेर रस चियाको रूपमा पिउनुपर्ने हुन्छ । यसमा पोलिसचाराइडर, ट्रिटरपेनोइड, अर्गानिक जर्मनियम, एमिनो एसिड्स जस्ता औषधीय तत्व रहेका हुन्छन् ।

    यस्तै प्रोटिन भिटामिन्स्, मिनरल, माइक्रोनट्रियन्टस् इत्यादि पौष्टिक तत्व पनि पाइन्छ । यी तत्वले गर्दा हाम्रो शरीरमा रोगप्रतिरोधि क्षमता बलियो हुने आर्युवेदिक चिकित्सकहरू बताउँछन् ।

    त्यसकारण पनि यो च्याउ सेवन गर्नाले विभिन्न रोग लागेका बिरामीलाई पनि फाइदा हुने गर्दछ । औषधीय र पौष्टिक तत्वले भरिपूर्ण भएका कारण पनि विश्वभर यो च्याउको प्रयोग बढ्दै गएको छ ।

    यो च्याउ क्यान्सर र एचआइभी एड्स रोगीका लागि अति उत्तम मानिने आर्युवेदिक चिकित्सक रघु शर्मा सापकोटाले बताए । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा रातो च्याउको व्यावसायिक खेती समेत सुरु गरिएको छ ।

    यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र अन्य जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएपछि अहिले गुर्जाको परिचय फेरिएको हो । आजभोलि देशभित्र र विदेशमा समेत गुर्जा गाउँलाई ‘हर्बल हब’ भन्न थालिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

    गुर्जामा रातो च्याउ, बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठेसल्ला, जटामसीलगायत बहुमूल्य जडीबुटी पाइने वडाध्यक्ष छन्त्यालले बताए ।

    खाली जग्गाको उपयोग गर्ने नीतिअनुसार गुर्जामा अतिसको बेर्ना उत्पादन गरेर खेती विस्तार गरिएको हो । यस च्याउको महत्व भनेको यो औषधीका रूपमा प्रयोग गरिन्छ । यो तरकारी खाने नभइ विभिन्न रोग निको पार्नका लागि सेवन गरिन्छ । यसको स्वाद तितो हुन्छ ।

    त्यसैले यस च्याउको सेवनले उच्च रक्तचाप भएका बिरामीलाई उच्च रक्तचापलाई घटाउन मद्दत गर्दछ । ट्यूमर निरोधक क्षमता बढाउँदछ, क्यान्सर रोग हुनबाट जोगाउँछ, रोगसँग लड्ने क्षमतामा वृद्धि गर्दछ, पाचन शक्ति बढाउँछ, अरुचि घटाउँदछ, यौन सम्वर्द्धन पनि मानिएको छ ।

    यसले हुने कलेजो वा प्यानक्रियाजआदिको कोषको संरक्षण गर्ने चिकित्सकहरु बताउँछन् । यसमा प्रोटिज र गानोर्डरिक अम्लमा मानिसको रगत जमाउने कार्यमा कमी ल्याउने वा जम्न नदिने क्षमता रहेको आर्युवेदिक चिकित्सक सापकोटाले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij