वेबटिभी खबर
लापाज । दक्षिण अमेरिकी देश बोलिभियाको दोस्रो ठूलो ताल सुकेर मरुभूमि भएपछि त्यस क्षेत्रमा बस्ने मानिसका लागि जीवनयापन गर्न कठिनाइ भएको छ ।
समुद्री सतहदेखि ३, ७०० मिटरको उचाईमा रहेको पोओपो तालले १ हजार वर्गकिलोमिटर क्षेत्रफलमा ढोकेको थियो । त्यसअघि सन् १९८६ मा यस तालको क्षेत्रफल ३ हजार ५ सय वर्गकिलोमिटर थियो ।
बोलिभिया सरकारले सो क्षेत्रलाई ‘सुख्खा क्षेत्र’ घोषणा गरेको छ । अमेरिकाको प्रख्यात सहर लस एन्जलसकै क्षेत्रफल बराबरको सो ताल अहिले मरुभूमिमा परिणत भएको छ । वैज्ञानिकहरुका अनुसार जलवायु परिवर्तनको असरका रुपमा तालको अस्तित्व मासिएको हो ।
ताललाई नै आम्दानीको श्रोत बनाउँदै आएका स्थानीय सयौं परिवार अहिले जीविकोपार्जनका लागि ठूलो संकट सामना गरिरहेका छन् ।

पोओपो ताल वरपर उरु जातिका मानिसहरुको बसोबास लामो समयदेखिको हो । उनीहरु तालमा माछा मार्ने, बकुल्ला, हाँसलगायत चराहरुको अण्डा संकलन गर्ने गरेर जीविको पार्जन गर्थे । त्यस जातिका मानिसहरुको त्यहाँ छुट्टै जमिन थिएन । पानीमाथि तैरिने साना साना टापुहरु बनाएर उनीहरु बस्थे । यसकारण उनीहरूलाई 'पानीका मानिसहरू' भनिन्छ ।
अहिले पोओपो सुकेपछि किनारमा तीन वटा साना आवासीय क्षेत्र बनाएर बसेका छन् । अहिले ताल छेउमा बस्ने उरुहरुको संख्या ६ सय ३५ छ ।

तापक्रम वृद्धिका कारण हिमनदी साँघुरिँदै गए, खेतीका लागि पानी लैजान र दुषित पानी तालमा मिसाउनाले लगभग पाँच वर्ष पहिले ताल सुक्यो । वर्षाको समयमा त्यहाँ साना साना पोखरी देखा पर्छन् तर ताल बन्दैन् ।
आफ्नो बाँच्ने स्रोत नै हराइसकेपछि त्यहाँका मानिसहरु लोप हुने अवस्थामा पुगेका छन् । ताल हराएको धेरै समय नहुँदै उरुहरुको मातृभाषा पनि हराइसक्यो । पुराना मानिसहरु बिते, नयाँ पुस्ता विद्यालयमा स्पेनिस पढ्न थाले र काममा अन्य सामान्य भाषाहरू, आमारा र क्वेचुआमा बोल्न लागे ।
आफ्नो पहिचान सुरक्षित गर्न उरू समुदायहरू आफ्नै मातृभाषा पुनर्जीवित पार्ने प्रयास गर्दैछन् । सरकार र स्थानीय निकायको सहयोगमा चिलीबाट शिक्षकहरु बोलाएर उरु भाषा सिक्ने प्रयासमा छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij