वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन् ।
१७औँ लोकतन्त्र दिवसको अवसरमा सोमबार एक विज्ञप्ति जारी गर्दै उनले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै सजग र सचेत रहनुपर्ने बताएका हुन् ।
‘विसं २००७ अघिदेखि प्रारम्भ भएको संघर्षको पृष्ठभूमिमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र बहालीका लागि २०६२/०६३ मा नेपाली कांग्रेसलगायत अन्य राजनीतिक दलद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो यसको रक्षाका लागि सबै लाग्नुपर्छ ।’ सभापति देउवाले गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सभापति देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा पटक–पटक गरिएका लोकतान्त्रिक आन्दोलनमा आफ्नो प्राणको आहुति दिने सम्पूर्ण ज्ञातअज्ञात वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
उनले लोकतन्त्र दिवसको अवसरमा वीर योद्धाको साहस, संकल्प र बलिदानको धरोहरको रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन नदिने प्रण सबैले गर्नुपर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij