रासस
नयाँ दिल्ली । उत्तरी छिमेकी चीनलाई उछिन्दै दक्षिणी छिमेकी मुलुक भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को पछिल्लो तथ्यांकअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसंख्या भएको देश बनेको हो ।
युएनएफपीएको ‘द स्टेट अफ वर्ल्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसंख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसंख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख गरिएको छ । युएनएफपीएको प्रतिवेदनको जनसांङ्ख्यिक सूचकमा यो तथ्याङ्क समावेश गरिएको छ ।
सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनसंख्या तथ्याङ्क सङ्कलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो । गत वर्ष चीनको जनसंख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्यो भने सोही अवधिमा भारतको जनसंख्यामा बढोत्तरी भएको छ ।
प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ । चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij