वेबटिभी खबर
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुदूरपश्चिम प्रदेशस्थित नं ७ वैद्यनाथ बाहिनी परिसरमा निर्माण भएको नेपाल एपीएफ फिल्ड अस्पतालको (चैत्र ३० गते) उद्घाटन गरेका छन् । सातै प्रदेशमा स्कुल र अस्पताल स्थापना गर्ने लक्ष्य अनुसार सो अस्पताल निर्माण गरिएको हो ।
महानिरीक्षक अर्यालले संगठनले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूको लागि विभिन्न किसिमका कल्याणकारी कार्य एवम् वृत्तिविकासमा विशेष ध्यानदिँदै कार्य गरिरहेको बताउँदै सशस्त्र प्रहरी कर्मचारीहरू अनुशासित, इमान्दार र पूर्ण व्यावसायिक भई प्राप्त जिम्मेवारी त्रुटिरहीत ढंगबाट पूरा गर्न निर्देशन दिए ।
कैलाली जिल्लाको गोदावरी नगरपालिका-१ स्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको परिसरभित्र १५ शैयाको फिल्ड अस्पताल निर्माण भएको हो ।
अस्पतालको निर्माण र संचालनले सो क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल, नेपालका बहालवाला तथा अवकाश प्राप्त कर्मचारीहरू र उनीहरूको परिवारका साथसाथै स्थानीय नागरिकहरूलाई समेत औषधि उपचारमा सहजता हुने डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
कार्यक्रममा नं.७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेलगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत, बिल्लादार जवान तथा स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij