वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानबारे माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू आज छलफल गर्न लागेका छन् । सोमबार उनीहरू भर्चुअल रूपमा छलफल गर्न लागेका हुन् ।
नेपाल पक्षका एक नेताले दिएको जानकारीअनुसार ओलीले राखेका प्रस्तावबारे आज छलफल गर्दैछौं । समय तय भइसकेको छैन । भर्चुअल रूपमा स्थायी कमिटी बैठक बस्छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकताको आह्वानसहित आइतबार बेलुकी ६ बुँदे प्रस्ताव राखेका थिए ।
त्यसमा आफू २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी सञ्चालन गर्न तयार रहेको तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिइनुपर्नेजस्ता बुँदा छन् ।
ओलीले प्रस्ताव राखेको सार्वजनिक भएपछि नेपाल पक्षका नेता योगेश भट्टराईले सकरात्मक भन्दै प्रतिक्रिया दिएका थिए भने रामकुमारी झाँक्रीले सर्तसहित आएका प्रस्ताव फन्डा मात्रै हुन सक्ने बताएकी छन् । नेता घनश्याम भुसालले छलफल गरेपछि मात्रै सामूहिक रूपमा धारणा सार्वजनिक गर्ने बताएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij