वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको बताएको छ ।
आज बसेको केन्द्रिय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सत्तामा रहिरहन अनुपयुक्त हुने ठहर गर्दै सरकारबाट बाहिरिनेसमेत निर्णय गरेको छ । राप्रपाले संघ सरकार र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिनेसमेत निर्णय गरेको हाे ।
‘शुभेच्छुकहरूको ठुलो पंक्तिको असहमतिको बिच नेपालको निर्णायकत्व नेपालीको हातमा स्थापित गर्दै देशमा बलियो राष्ट्रिय शक्ति निमार्ण, राष्ट्रियता, विकास, सशुासन, सेवाप्रवाह र स्थिरतालाई मुल आधार बनाएर २०७९ पुस १० गते राप्रपा नेपालको समेत समर्थनमा बर्तमान सरकार गठन भएको हो,’ राप्रपाले भनेको छ, ‘यसै पृष्ठभुमीमा माघ ३ गते हामी सरकारमा सहभागी भई क्रियाशिल रहेको बेला बर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको छ । यो हाल देखिएको सत्ता परिवर्तनको प्रवृति र प्रक्रिया बर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ ।’
परिवर्तित सन्दर्भमा सरकारमा रहिरहनु उचित नभएको पनि राप्रपाको ठहर छ ।
‘परिवर्तित सन्दर्भमामा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजैबाट सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं,’ आकस्मिक रूपमा बसेको बैठकको निर्णयमा भनिएको छ, ‘साथै प्रदेश सरकारमा पनि राप्रपाले यसै बमोजिमको दृष्टीकोण रहेकाले सरकारलाई दिएको समथर्न फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij