Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सामूहिक आलु खेतीतर्फ किसान आकर्षित 

सामूहिक आलु खेतीतर्फ किसान आकर्षित 

  • 451
    SHARES
  • सामूहिक आलु खेतीतर्फ किसान आकर्षित 

    नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका-६ का किसानले समूह बनाएर नगदे बालीकारूपमा रहेको आलु खेती सुरु गरेका छन् ।

    विगतका वर्षहरूमा निर्वाहमुखी आलु खेती गर्ने गरेका यस ठाउँका किसानले यस वर्ष करिब तीन बिघा जमिन भाडामा लिएर सामूहिकरूपमा आलु खेती गरेका हुन् ।

    कावासोती नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषक समूहको ५० प्रतिशत गरेर पाँच लाखको लगानीमा आलु खेती गरिएको परिवर्तन कृषक समूहका अध्यक्ष मणिप्रसाद न्यौपानेले बताए । ३५ जनाको समूह बनाएर आधुनिक पद्धतिबाट व्यावसायिक आलु खेती गरिएको न्यौपानेले जानकारी दिए ।

    विगत वर्षमा थोरै जमिनमा पुरानै तरिकाले आलु खेती गर्दा खासै प्रतिफल आउने नगरेको बताउँदै समूहकी कोषाध्यक्ष कुन्तिकला अधिकारीले यस पटक सामूहिकरूपमा कृषि प्राविधिकको सहयोगमा आधुनिक तरिकाले आलु खेती गरिएकाले राम्रो प्रतिफल पाउने विश्वास व्यक्त गरिन् ।

    नगरपालिकाको अनुदानमा सामूहिकरूपमा खेती गरिएपछि कृषि प्राविधिकको सहयोग पनि राम्रो पाएको कोषाध्यक्ष अधिकारीको भनाइ छ । सामूहिकरूपमा उत्पादन गरिएको आलु स्थानीय बजारमै बिक्री गरिने समूहको तयारी छ ।

    अहिले किसानले आलु गोडमेल गरिरहेको समय भएपनि स्थानीय व्यापारी आलु खरिदका लागि अग्रिम सम्पर्कमा आउने गरेका समूहका अध्यक्ष न्यौपानेले बताए ।

    जिल्ला सदरमुकाम कावासोती बजारबाट करिब दुई/तीन किलोमिटरको दूरीमा उत्पादन गरिएको आलुले सहजै बजार र राम्रो मुल्य पाउने उनले विश्वास व्यक्त गरे ।

    केही वर्ष पहिले केरा खेती गरेर आम्दानी गर्ने गरेका किसान पछिल्लो समय भने स्थानीय बजारमा आलुको माग बढ्दै गएको र स्थानिय तहले आलु खेतीमा अनुदान दिन सुरु गरेपछि सामूहिकरूपमा आलु खेतीतर्फ आकर्षित भएका हुन् ।

    यस क्षेत्रको माटो आलुका लागि राम्रो र स्थानीय बजार कावासोती, डण्डा, दलदले र नारायणघाटबाट यस क्षेत्रको आलु माग बढेकाले पनि किसान आलुखेतीतर्फ आर्कषित भएका कृषि प्राविधिकको भनाइ छ ।

    गत वर्ष जिल्लामा तीन हजार एक सय १५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको कृषि  ज्ञान केन्द्र नवलपुरले जनाएको छ । यस वर्ष थप ६० हेक्टर जमिनमा आलु खेती विस्तार भएको छ । गएको वर्ष जिल्लाभर ५५ हजार दुई सय ४५ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । 

  • सम्बन्धित विषय:

  • # आलु खेती

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij