Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

संघीय सरकारमा कर्णालीको सहभागिता शून्य

संघीय सरकारमा कर्णालीको सहभागिता शून्य

  • 431
    SHARES
  • संघीय सरकारमा कर्णालीको सहभागिता शून्य

    सुर्खेत । चुनावको मुखैमा कर्णालीमा हेलिकोप्टर आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुम्ला, कालिकोट र हुम्ला गएर संघीय सरकारको मन्त्री बनाउने सपना बाँडे ।

    उनले भनेका थिए, ‘जितेर आउनु, मन्त्री बनाउने मेरो जिम्मेवारी ?’ चुनाव सकियो, विभिन्न राजनीतिक उथलपुथलका बीचमा गठबन्धन भत्कियो, नयाँ समिकरणसहित प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा पुगे तर प्रचण्डले कर्णालीमा आएर बोलेको कुरा उनको मन्त्री मण्डलमा कर्णाली हरायो ।

    सबैलाई लागेको थियो, जाजरकोटका शक्ति बस्नेत, कालिकोटका महेन्द्रबहादुर शाही, हुम्लाको कार्चेन लामा मध्य एक संघीय सरकारका मन्त्री बन्ने छन् तर जब २३ सदस्यीय मन्त्री मण्डलमा कर्णालीको नाम निसानै हराउने गरी एकजना राज्यमन्त्रीसम्म नपर्दा धेरैले सामाजिक सञ्जालमा प्रचण्ड सरकारले कर्णालीलाई हेप्यो भन्दै टिप्पणी गर्न भ्याएका छन् ।

    हुन न त कर्णालीमा माओवादीले मुख्यमन्त्री पाएको छ । अन्य प्रदेश भन्दा माओवादीको बलियो उपस्थिति जनमतका हिसावले कर्णाली एक नम्वर रहेको छ । माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेत गृहमन्त्री वन मन्त्रीदेखि स्वास्थ्यमन्त्रीसम्म भइसकेका थिए । पार्टीभित्र  प्रचण्डको विश्वास पात्रमा पर्छन् बस्नेत ।

    बाहिर सार्वजानिक रूपमा नबोले पनि भित्र आशय त्यही रहेको उनी निकट स्रोतले बतायो । उनीलाई बाममन्थी शक्तिलाई एकै ठाउँमा ल्याएर अगाडी बढ्नको लागि वार्ता समितिको सदस्यसमेत बनाएकाले पनि मन्त्री बन्न नचाहेको अवस्था एकातिर छदैछ । माओवादी मात्र होइन, एमाले पनि कर्णालीमा मन्त्री बन्ने उचाइ भएको व्यक्ति भेटाएन । राप्रपको पनि सोही व्यवहारले कर्णालीलाई हेरेको छ ।

    कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभाका १२ वटा निर्वाचन क्षेत्र छन् । त्यस्तै, हरेक प्रदेशबाट राष्ट्रियसभामा आठ जनाको प्रतिनिधित्व छ । यहाँबाट हाल संघीय संसद्को राष्ट्रियसभामा आठ र प्रतिनिधिसभामा २१ गरी २९ सांसद छन् । यो प्रदेशबाट अहिले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ र समानुपातिक निर्वाचन प्रणाली मार्फत् चुनिएका नौ सांसद रहेका छन् ।

    कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने दर्जनौँ सांसद भएपनि प्रचण्डको ‘क्याबिनेट’ मा एक जनाले पनि प्रवेश पाएका छैनन् । प्रचण्ड सरकारमा मन्त्री र राज्यमन्त्री बनेका २३ मध्ये १५ जनाले पहिलो पटक मन्त्रालयको जिम्मेवारी पाएका छन् । चार जनालाई उपप्रधानमन्त्री, १५ जनालाई मन्त्री र तीन जनालाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

    धेरै दलको सहभागिता रहेको ठूलो मन्त्रीमण्डल बनाउँदा पनि सरकारमा कर्णालीको प्रतिनिधित्व नगराइनु दुखद् भएको माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी इन्चार्ज कालिबहादुर मल्लले बताए । माओवादीले प्रदेशको नेतृत्व पाएकाले पनि प्रचण्डले आफ्नो दलबाट संघीय सरकारमा प्रतिनिधित्व नगराएको हुनसक्ने कतिपय माओवादी नेताहरूको बुझाइ छ । माओवादीबाट प्रत्यक्षमा चार र समानुपातिकमा एक गरी पाँचजना सांसदको प्रतिनिधिसभामा प्रतिनिधित्व छ ।

    विकास र नेतृत्वका हिसाबले कर्णाली अन्य प्रदेशको तुलनामा पछाडि छ । पिछडिएको क्षेत्रबाट मन्त्रिपरिषद्मा एक जनाको पनि प्रतिनिधित्व नहुनु दुःखद् रहेको विश्लेषण रहेको छ ।

    मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन एवम् नागरिक समाजका अगुवा पीताम्बर ढकालले सत्ता गठबन्धन दरिलो नहुँदा केन्द्रीय नेतृत्वमा कर्णाली अटाउन नसकेको बताए । विगतका सरकारमा पनि कर्णालीबाट संघीय सरकारमा निकै न्यून सहभागिता रहने गरेको थियो । मन्त्रिमण्डलमा सामेल गराए पनि प्रमुख मन्त्रालय नदिने गरिँदै आएको हो ।

    सत्ता गठबन्धनको प्रमुख दल एमालेले समेत मन्त्रीमण्डलमा कर्णालीको प्रतिनिधित्वलाई बेवास्ता गरेको छ । यसपटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कर्णालीमा निल बनेको एमालेका समानुपातिक सांसद भने छन् । ती सांसदहरूलाई पनि उक्त पार्टीले सरकारमा नपठाएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij