वेबटिभी खबर
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान सामूहिक आलु खेतीमा आकिर्षत भएका छन् । समूहमा आबद्ध यहाँका किसान कृषिमा आत्मनिर्भर हुन यतिबेला आलु गोडमेलमा व्यस्त देखिन्छन् ।
एक बिघा जमिन भाडामा लिएर पशुपति किसान समूहमार्फत सामूहिकरूपमा आलु खेती गर्दै आइरहेको समूहका अध्यक्ष बलराम पोख्रेलले बताए । सामूहिकरूपमा कृषिमा केही गर्ने उद्देश्यले आलु खेतीमा लागेका उनीहरू बजारीकरण र जिल्लामा उपयुक्त कोल्डस्टोर नहुँदा आफूहरूले लगाएको आलु बिग्रने चिन्तामा छन् ।
‘आलु स्थानीय बजारले खपत नगर्दा घाटामा जान्छ कि भन्ने चिन्ता छ’, अध्यक्ष पोख्रेलले भने, ‘सबै मिलेर धेरै मेहनत गरेका छौँ बजारीकरण सोचेअनुरुप भए अर्को वर्ष डेढ बिघामा आलु खेती गर्नेछौँ ।’
सामूहिकरूपमा आलु खेती गरेका किसान जगनाथ पोख्रेलले यसपाली आलु खेतीबाट राम्रो आम्दानी हुने आशा गरेका बताए । विगत वर्षमा सामूहिकरूपमा प्याज र गोलभेँडा खेती गर्दै आएका पशुपति किसान समूहका किसान अर्को वर्ष सामूहिक मकै खेती गर्ने सोचमा छन् ।
महिला खेतबारीमा बढी व्यस्त हुने गर्छन् । अहिले सामूहिकरूपमा लागेपछि समयको बचतका साथै धेरै कुराको जानकारी हुने किसान देउरुपा चापागाईंले बताइन् ।
सामूहिकरूपमा खेती गर्दा कृषि व्यवसायमा राम्रो सम्भावना रहेको र भविष्यमा पनि यसलाई निरन्तरता दिने उक्त समूहको लक्ष्य छ । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर जमिनमा आलु खेती भएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछाको भनाइ छ ।
‘गत वर्ष तीन हजार एक सय १५ हेक्टरमा आलु खेती भएकोमा यो वर्ष ६० हेक्टर जमिनमा थप विस्तार गरिएको छ’, उनले भने, ‘गत वर्ष जिल्लामा ५५ हजार दुई सय ४५ मेट्रिकटन आलु उत्पादन भएको थियो ।’ जिल्लामा व्यावसायिक आलु खेती गर्ने किसानको संख्या प्रत्येक वर्ष बढेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij