Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

व्यावसायिक कृषिमा रमाउँदै सुस्माका दम्पती

व्यावसायिक कृषिमा रमाउँदै सुस्माका दम्पती

  • 399
    SHARES
  • व्यावसायिक कृषिमा रमाउँदै सुस्माका दम्पती

    कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नं-८ मजगाउँकी सुस्मा चौधरीले व्यावसायिक कृषिबाट मासिक करिब एक लाख आम्दानी गर्छिन् ।

    उनलाई श्रीमान् वीरेन्द्र चौधरीले साथ दिएका छन् । करिब पाँच वर्षअघि वैवाहिक बन्धनमा बाँधिएको यो जोडीले बिहेलगत्तै व्यावसायिकरूपमा कृषि सुरु गरेको हुन् ।

    ‘परिवार विगतदेखि कृषिमा भए पनि व्यावसायिक रूपमा भने काम भएको थिएन’, सुस्माले भनिन्, ‘बिहे भएपछि भने काम सुरु गरेका हौँ ।’ उनीहरूले व्यावसायिक खेती सुरु गर्नका लागि स्थानीय स्तरमा सञ्चालित सिजर्नशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण लिएका थिए ।

    सहकारीबाट लिएको ऋणबाटै अहिले उनीहरू तरकारी खेती र कुखुरापालन गरिरहेका छन् । सुस्माले तरकारीखेती र बीरेन्द्रले कुखुरापालनमा समय खर्च गर्ने गरेका छन् ।

    ‘सुरुमा मौसमी तरकारीखेती मात्रै गर्ने गर्दथ्यौँ, बेमौसमी तरकारीखेती गर्न आउदैनथ्यो’, सुस्माले भनिन्, ‘तर अहिले मौसमी र बेमौसमी तरकारी उत्पादन गरिरहेका छौँ, बेमौसमी तरकारी उत्पादनका लागि सिर्जनशील सहकारीबाट सञ्चालित किसान परियोजना र युएसएआइडी नामक संस्थाले तालिम दिएको थियो ।’

    तालिमका कारण तरकारी खेतीमै आत्मनिर्भर बन्न थप प्रेरणा मिलेको उनीहरूको भनाइ छ । उनीहरूले ५० हजारबाट तरकारी खेती सुरु गरेको सुस्माले जानकारी दिइन् ।

    ‘सुरुमा त लगानी नै लागेन तर बेमौसमी तरकारीखेती सुरु गरेपछि ५० हजार जति लगानी लाग्यो’, उनले भनिन्, ‘अहिले बारीमा टमाटर, खुर्सानी, काउली, बन्दा र प्याज छन् । काँक्रा र बोडी भने भर्खर उम्रिरहेका छन् ।’

    उनले काँक्रा र बोडीका लागि आफैंले तीन वटा टनेल बनाएकी छन् । तरकारी बिक्री वितरणको जिम्मा भने श्रीमान बीरेन्द्रले लिएका छन् । ‘खुद्रा खरिद गर्ने मानिस त घरमै आउने गर्छन्’, सुस्माले भनिन्, ‘थोक बिक्रीका लागि भने अत्तरिया लैजानुपर्छ, जुन काम श्रीमान्ले गर्नुहुन्छ ।’

    दैनिक एकदेखि डेढ क्विन्टलसम्म तरकारी बिक्रीका लागि बजार पठाउने गरेका छन् । बीरेन्द्रले कुखुरापालनबाट अण्डा पनि बिक्री गर्ने काम गर्छन् । २०७७ वैशाखमा हालेका बोभेन ब्राउन जातको कुखुराबाट मासिक ४० हजारभन्दा बढी कमाउने गरेको बीरेन्द्रले बताए ।

    ‘यो जातका कुखुराको उमेर दुई वर्षको हुन्छ, मैले हालेको दुई वर्षभन्दा बढी भइसक्यो’, उनले भने, ‘यसबाट अहिले दैनिक आठ सयदेखि आठ सय ५० जति अण्डा उत्पादन भइरहेका छन्, सो अण्डाबाटै मैले आम्दानी गर्ने गर्दछु ।’

    उनले अण्डा बिक्री गर्न राजपुर र मनेहरा जाने गरेको छन् । सहकारीबाट सुरुवाती चरणमा पाँच लाख ऋण लिएर व्यवसाय सुरु गरेका सुस्मा र बीरेन्द्रको जोडीले अहिले मासिक एक लाखको हाराहारीमा आम्दानी गर्दै आएका छन् ।

    उनीहरूले आफ्नै आठ कट्ठा जमिनमा खेती गरिरहेका छन् । सुरुदेखि नै तरकारीखेती गरेकी सुस्माले फार्म खोलेकी छैनिन् । उनले फार्मबिना नै कृषि काम गरिरहेकी छिन् ।

    तर बीरेन्द्रले भने आशीष पोल्ट्री फार्ममार्फत् कुखुरापालन गरिरहेका छन् । कुखुराको बीमाका लागि भए पनि कृषि फार्म खोलेको बीरेन्द्रले बताए ।

    करिब ११ लाख लगानी भएको कुखुरापालन व्यवसायलाई निरन्तरता दिइ फेरि कुखुरा थप्ने योजना रहेको बीरेन्द्र जानकारी दिए ।

    ‘दानाको मुख्य अकासियो, चल्ला पनि मर्छन्’, उनले भने, ‘तर अण्डाको भाउ बढ्न सकेको छैन् । अहिले पनि क्रेटको तीन सय ५० देखि तीन सय ८० सम्ममा बिक्री गर्ने गर्दछु ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij