वेबटिभी खबर
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले मंगलबार एकैपटक आठ हजार चार सय अठासी जना जवानको सरुवा गरेको छ ।
सरुवा प्रयोजनको लागि केही समय अघि मात्र देशभरका जवानहरूलाई प्राथमिकता अनुसार तीन वटा युनिटको नामा लेखाएर फारम नै भराइएको थियो । सोही अनुसार सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको छ ।
यस्तै सीमावर्ती इलाकाका युनिटहरूमा लामो समय दरबन्दी भएका जवानहरूलाई सीमा इलाका बाहेक अन्यत्र सरुवा गरिएको छ । सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा राखिएको थियो ।
यस्तै मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ । घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको छ ।
विगत देखिकै सरुवासम्बन्धी गुनासोलाई सम्बोधन गर्दै श्रीमान–श्रीमतीलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ । मुख्यालयले फारम भराएर जवानहरुको इच्छा अनुसारको कार्यालयमा सरुवा गरेको यो पहिलो पटक हो ।
यसबाट तल्लो दर्जाको कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवासम्बन्धी गुनासो समेत कम हुँदै जाने विश्वास मुख्यालयको छ ।
अब बिल्लादार तथा जुनियर अधिकृतसम्म पनि जवानको सरुवाको मापदण्ड र तरिका अपनाएर विस्तारै सरुवा गरिने नीति सशस्त्र प्रहरीले लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij