Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बरहथवामा गठबन्धनको संयुक्त चुनावी सभा, नागरिकता विधेयक रोकेकोमा एमालेको विरोध 

बरहथवामा गठबन्धनको संयुक्त चुनावी सभा, नागरिकता विधेयक रोकेकोमा एमालेको विरोध 

  • 1.5K
    SHARES
  • बरहथवामा गठबन्धनको संयुक्त चुनावी सभा, नागरिकता विधेयक रोकेकोमा एमालेको विरोध 

    सर्लाही । लोकतान्त्रिक–वाम गठबन्धनले सर्लाहीको क्षेत्र नम्बर ३ को बहरथवामा संयुक्त चुनावी सभा गर्दै लाखौं नेपालीलाई नागरिकताबात बञ्चित गराउने एमालेको विरोध गरेका छन् । चुनावी सभामा नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि प्रमुख अतिथि थिए । 

    निधिले सभामा सम्बोधन गर्दै लोकतान्त्रिक–वाम गठबन्धनले संविधानकाे रक्षा, लाेकतन्त्रकाे स्थायीत्व, विकास र मधेसकाे समस्या समाधान गर्ने बताए । उनले मधेसमा ठूलो संख्या नागरिकताबाट बञ्चित रहेको र गठबन्धन सरकारले नागरिकता विधेयक ल्याए पनि एमालेका कारण रोकिएको बताए ।

    ‘मधेसका लाखाैं नागरिकले नागरिकता पाएका छैनन्,’ उनले भने, ‘नागरिकता नभएकै कारण उनीहरू विभिन्न अवसरबाट बञ्चित हुनु परेको छ ।’ निधिले मधेसी, आदीबासी जनजाती, थारु, मुसलमान, दलित, महिला, मजदुरका लागि काम गर्न गठबन्धन प्रतिबद्ध भएको बताए । उनले सभामा गठबन्धनका उम्मेदवारलाई प्रतिनिधसभा र प्रदेशसभामा जिताउन आग्रह गरे ।

    n sir sarlahi.jpg
    गठबन्धनकाे संयुक्त चुनावी सभामा सहभागी

    एमालेको सहयोगमा राष्ट्रपतिले विधेयक जारी नगरको भन्दै सभाका वक्ताले एमालेले मधेसमा नागरिकता समस्या बल्झाइरहन चाहेको आरोप लगाए । नागरिकता विधेयक रोकिएकोमा विरोधमा उत्रिएको जनता समाजवादी पार्टीसँग भने यो चुनावमा एमालेले तालमेल गरेको छ ।

    सभामा नेकमा माओवादीका नेता एवं पूर्वमन्त्री रामेश्वर राय यादवले नागरिकता विधेयक रोकेकोमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको विरोध गरे । एमालेले खाेसेको आम नागरिकका हक, अधिकार रक्षाका लागि लोकतान्त्रिक–वाम गठबन्धन जरुरी भएको उनले बताए । 

    यस्तै नेपाली कांग्रेस नेता तथा संघीय संसदमा समानुपातिक उम्मेदवार चन्दा चौधरीले लोकतन्त्र, गणतन्त्र, संविधान बचाउन गठबन्धन जिताउनुकाे विकल्प नभएको बताइन् । लोकतन्त्रको रक्षा गर्दै जनतालाई अधिकार सम्पन्न बनाउन गठबन्धनको जित अनिवार्य रहेको र त्यसका लागि जनताको भूमिका विशेष हुने उनको भनाइ थियो । 

    लोकतान्त्रिक–वाम गठबन्धनबाट सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र साहले यो क्षेत्रको विकासका लागि क्षेत्रकै उम्मेदवारलाई जिताउनु पर्ने बताए । 

    बाहिरबाट आउने उम्मेदवारलाई जिताउँदा यहाँको विकासमा ध्यान नदिनेतर्फ मतदाता सचेत हुनुपर्ने उनले उल्लेख गरे । एमालेबाट त्यस क्षेत्रमा उठेका उम्मेदवार हरि उप्रेतीकाे घर क्षेत्र ४ मा पर्छ । 

    n sir 2.jpg

    सर्लाही क्षेत्र नम्बर ३ ‘ख’ बाट प्रदेश सभा उम्मेदवार नेपाली कांग्रेसका हरेशप्रसाद महतोले आफू जनताको सुख, दुःखमा सधैँ साथ दिएर सेवक बन्ने बताए । ‘पछाडि पारिएका हरेक नागरिकको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्छु,’ महतोले भने, ‘अन्य क्षेत्रबाट आएर यो क्षेत्रमा चुनाव लड्नेले कुनै विकास गर्दैन, यहाँका मतदाता त्यसमा सचेत हुनुपर्छ ।’

    चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका नेता तथा लोकतान्त्रिक–वाम गठबन्धनबाट प्रदेश सभा ‘क’ का उम्मेदवार डिल्लीप्रसाद उप्रेतीले लोकतन्त्रको सम्वाहक संस्था संसदलाई दुई पटक भंग गर्ने एमालेले यो चुनावमा भोट माग्ने अधिकार गुमाएको बताए । ‘एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले असंवैधानिक रुपमा दुई पटक संसद विघटन गर्याे,’ उनले भने, ‘त्यसैले यो चुनावमा लोकतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रिक–वाम गठबन्धनलाई जिताउन आवश्यक छ ।’

    संयुक्त चुनावी सभामा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, उपसभापति नवीन अधिकारी, कांग्रेस नेता विनोद खनाल, बिगु चौधरी, कृष्णदेव यादवलगायतका नेताले सम्बोधन गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij