वेबटिभी खबर
सर्लाही । नेपाली कांग्रेसका नेता तथा सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा ‘ख’ का उम्मेदवार हरेश महतोले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन अपिल गरेका छन् । बरहथवा १२ स्थित लालभित्तिमा आयोजित एक सभालाई सम्बोधन गर्दै नेता महतोले गठबन्धनको चुनाव भएकाले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन अपिल गरे ।
सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्र साह र प्रदेश सभा ‘ख’ का लागि नेपाली कांग्रेसका हरेश महतोले लालभित्तिमा आयोजित एक सभामा सम्बोधन गरेका थिए ।
नेकपा माओवादी केन्द्रका नेता साहले आशन्न प्रतिनिधिसभाको चुनावमा आफूले जित हासिल गरेपछि सर्लाही क्षेत्र नम्बर ३ को विकासका लागि बजेट ल्याउन पहल गर्ने बताए ।
विगतमा २०७४ को चुनावमा आफूले चुनाव हारे पनि जनताको घरदैलोमा गएको स्मरण गरे । ‘मैले थालेका कतिपय कामहरू कोरोना महामारीका कारण पूरा हुन नपाएको अवस्था छ,’ नेता साहले भने, ‘चुनावपछि बाँकी कामहरूले रफ्तार लिनेछन् ।’
उनले सर्लाही ३ मा मधेस प्रदेशकै नमुना म्युजियम बनाउने उद्घोष पनि गरे । यस्तै सर्लाहीलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न आफू पूर्ण रुपमा समर्पित हुने नेता साहले बताए ।
नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा ‘ख’ का उम्मेदवार हरेस महतोले आफूहरूलाई जिताए छ वर्ष जनताको सेवक बन्न तयार रहेको बताए ।
‘प्रतिनिधिसभाको चुनावमा नरेन्द्र साह र प्रदेशमा मलाई जिताउनु होला । हामी जनताको सुख, दुःखमा सधैं साथमा हुनेछौं,’ नेता महतोले भने, ‘हामी यहि क्षेत्रका बासिन्दा हौं । तपाईंहरूकै भाइ, भतिजा र छोरा हौं ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij