Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

किसानलाई अलैँची भित्र्याउन चटारो

किसानलाई अलैँची भित्र्याउन चटारो

  • 387
    SHARES
  • किसानलाई अलैँची भित्र्याउन चटारो

    ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका अलैंची किसानलाई देउसी भैलोमा नाचगान गरेर बस्ने समय छैन । चोक-चोकमा देउसी र भैलो घन्किए पनि अलैंची किसानलाई पाकेको अलैंची भित्र्याउने चटाराले छोपेको छ ।

    बुधबार फुङ्लिङ बजारमा दैउसी, भैलोको रौनक थियो । बजारदेखि पाँच किलोमिटर पर बिहीबारे क्षेत्रमा अलैंची बगानमा ७० वर्षीय खाङ्डु शेर्पा अलैंची भट्टी लगाउनमा व्यस्त थिए । कोही महिला, पुरुष र केटाकेटी अलैंची टिपेर जम्मा गरिएको अलैंचीको थुप्रो वरिपरि बसेर अलैंची छडाउनमा व्यस्त थिए ।

    खाङडु शेर्पाको दसैं पनि अलैंची बगानमै बितेको थियो । अलैंची छराउँदै र सुकाउँदै तिहार पनि अलैँची बगानमै मनाउने शेर्पाले बताए । शेर्पाले ६० रोपनी जग्गामा अलैँची खेती गरेका छन् । फक्ताङलुङ गाउँपालिका-२ खेजेनेममा पनि ४० रोपनी जग्गामा अलैँची बगान छ । अलैँची बगानमै आफ्नो अझै एक महिना समय बित्ने उनको भनाइ छ ।

    सोही क्षेत्र नजिकै रहेको अलैँची भट्टीमा केदार पताङ्वा पनि पसिना चुहाउँदै अलैँची भट्टीमा सुकेको अलैँची उठाउन व्यस्त छन् । भट्टीको आँगनमा जम्मा गरिएको अलैँचीको थुंगाको हसमा बसेर आठ/नौ जना अलैँची छडाउनमा व्यस्त देखिए ।

    पताङ्वालाई एकैछिन बस्न फुर्सद छैन । दसैँदेखि नै पताङ्वाले भट्टीमा सुकेको अलैँची उठाएर घरमा जम्मा गर्ने र छडाएको अलैँची सुकाउनका लागि भट्टी लगाउनमै व्यस्त भएको हो । खेतीयोग्य ४० रोपनी जमिनमा अलैँची बगान विस्तार गरेको पताङ्वाले बताए ।

    उनले परम्परागत प्रविधिका भट्टीबाट अलैँची सुकाउँदै आएका छन् । केही किसानलाई ‘अलैँची जोन’ कार्यालय ताप्लेजुङले आधुनिक प्रविधिको भट्टी उपलब्ध गराएको छ । किसानहरूको रोजाइमा परेको देखिंदैन । प्रायःजसो सबै किसानले परम्परागत प्रविधिका भट्टीबाट अलैँची सुकाउँदै आएको पताङ्वाले जानकारी दिए ।

    फक्ताङ्लुङ गाउँपालिका-६ का विर्ख लिम्बूले अलैँची बगानमा बस्न थालेको एक महिना भयो । बेंसीदेखि लेकसम्ममा उनीसँग विभिन्न ठाउँमा पाँच वटा अलैँची बगान रहेको छ । बेंसीमा साउन महिनाको पहिलो सातादेखि टिपाइ सुरु हुन्छ ।

    बेंसी रहेको बगानदेखि टिप्दै लेकतिरको बगानमा पुग्दा मंसिर महिना लाग्छ । बगानमा काम गर्ने खेतला पाँनै समस्या छ । धेरैजसो पर्म गर्नु पर्दछ । छिमेकीका बगानमा टिपी सकाएर आफ्नो बगानमा टिप्नु पर्दछ । लेक क्षेत्रमा अलैँची बगान हुनेले बेंसी क्षेत्रमा टिपाइ हुँदा पर्म सघाइराख्नुपर्ने हुन्छ ।

    अलैँची बगानमा रोजगारी 

    नगरपालिका-७ बिहीबारे क्षेत्रको एक अलैँची बगानमा पूर्ण राई अलैँची टिप्न व्यस्त छन् । उनी पाथीभरा याङ्वरक गाउँपालिका-१ नाङखल्याङदेखि अलैँची टिप्न रोजगारी गर्न फुङ्लिङसम्म आएका हुन् ।

    बिहान उठेपछि अलैँची टिप्न बगानमा पसेका राई साँझ परेपछि मात्रै बाहिर निस्कन छन् । उनी साँझ बिहानको खाना खाजा पनि अलैँची बगानमै खानछन् । बिहान र दिनभरि टिपिएको अलैँचीको ढुंगा बगान नजिकै रहेको अलैँची सुकाउने भट्टीमा जम्मा गर्ने काम हुन्छ ।

    दिनभरि टिपिएको अलैँची बेलुका १० बजे रातसम्म छडाउनु राईको अहिले दैनिकी बनेको छ । पाथीभरा याङ्वरक गाउँपालिका-१ नाङखल्याङ गाउँका पूर्ण राईसँगै सात जनाले घर छोडेर अलैँची टिप्न फुङ्लिङ पुगेका छन् ।

    गाउँमा रोजगारी नभएपछि रोजगारी खोज्दै फुङ्लिङ-६ अवस्थित अलैँची बगानमा आइपुगेको नरप्रसाद राईले बताए । उनको तिहार पनि अलैँची बगानमै बसेर अलैँची टिप्ने, ओसार्ने, भट्टी लगाउने काममा बित्यो ।

    कमल राई पनि अलैँची टिप्ने बगानमै व्यस्त छन् । तिहार खर्च घरमा पठाएर आफू अलैँची बगानमा रोजगारी गर्दै बसेको उनले बताए । उनीहरू रोजगारीका लागि पाथीभरा याङ्वरक गाउँपालिकादेखि फुङ्लिङ आएका हुन् ।

    दिनभरि टिपिएको अलैँची बेलुका १० बजेसम्म छोडाउने गर्छन् । अलैँची बगानमै बसेर बिहान बेलुका काम गर्दा दैनिक ६०० रूपैयाँ ज्याला पाउने राईले बताए ।

    गत वर्ष अलैँची जोन क्षेत्रमा दुई हजार छ मेट्रिकटन उत्पादन भएकोमा दुई हजार मेट्रिकटन बिक्री भएको र त्यसबाट किसानले एक अर्ब ३५ करोडभन्दा बढी आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ ।

    करिब छ मेट्रिकटन अलैँची मात्र जिल्लामा खपत भएको तथ्यांकले जनाएको छ । अलैँची जोनले ताप्लेजुङमा तीन हजार सात सय हेक्टर क्षेत्रफल ओगटे पनि तीन हजार चार सय हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको अलैँची जोनका कृषि विकास अधिकृत शम्भुप्रसाद देवले बताए ।

    फुङ्लिङ नगरपालिकाका-११ मध्ये सबै वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । मैवाखोला गाउँपालिकामा छमध्ये सबै वडामा अलैँची उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ ।

    मिक्वाखोला गाउँपालिकाका पाँच वडा र फक्ताङलुङ गाउँपालिका-७ ओलाङ्चुङगोलाबाहेक छ वटा वडामा अलैँचीखेती हुँदै आएको छ । आठराइ त्रिवेणी गाउँपालिकाका वडा नं-३, ४ र ५ र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं-१ र ३ मा किसानले अलैँची खेती गर्दै आएका छन् ।

    त्यस्तै मेरिङ्देन गाउँपालिका-३ खाम्लुङबाहेक बाँकी पाँच वडा र सिरिजङ्गा गाउँपालिका-६ मामाङ्खेमा अलैँची खेती गरिन्छ । जिल्लामा रहेका कूल ६१ वडामध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोनले ३९ वटा वडामा कार्यक्षेत्र बनाएर कार्यक्रम गर्दै कार्यालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # अलैँची

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij