Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

गौतमबुद्ध विमानस्थलमा कर्मचारी राख्दा स्थानीयलाई प्राथमिकता : गृहमन्त्री खाण

गौतमबुद्ध विमानस्थलमा कर्मचारी राख्दा स्थानीयलाई प्राथमिकता : गृहमन्त्री खाण

  • 333
    SHARES
  • गौतमबुद्ध विमानस्थलमा कर्मचारी राख्दा स्थानीयलाई प्राथमिकता : गृहमन्त्री खाण

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनलाई लक्षित गरि गृहजिल्ला रूपन्देहीमा सक्रियता बढाएका छन् ।

    आगामी मंसिर ४ गते हुने निर्वाचनमा खाणले रूपन्देही निर्वाचन क्षेत्रनम्बर-३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । सोही लक्षित उनले अहिले निर्वाचन क्षेत्रमा प्रचारप्रसार कार्यालयहरूको उद्घाटन, कार्यकर्ता भेटघाट एवं सभाहरूमा सक्रियता बढाएका छन् ।

    यसैबीच उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयवासीलाई प्राथमिकता दिइने बताएका छन् । उनले विमानस्थलमा नयाँ रोजगारी खुल्दा र अन्य अवसरमासमेत स्थानीयवासीले प्राथमिकता पाउने भन्दै त्यसतर्फ आफूले पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

    गृहमन्त्री खाणले शनिबार भैरहवामा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै स्थानीयवासीले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण सम्पन्न भएकाले नयाँ रोजगारी खुल्दा स्थानीयवासीलाई योग्यताअनुसारको रोजगारीमा प्राथमिकता पाउने बताए ।

    उनले भने, ‘स्थानीयवासीले जमिन नदिएको भए विमानस्थल बनाउन कठिन हुन्थ्यो । त्यसैले विमानस्थल निमार्णका लागि पुस्तौँदेखि बस्दै आएको जग्गा दिएर योगदान पुर्याएकाहरूले नै हरेक अवसरमा पहिलो प्राथमिकता पाउनुपर्छ । स्थानीयवासीले मुआब्जा लिएर भए पनि विमानस्थल बनाउन गरेको सहयोग सरकार र कसैले पनि बिर्सिनुहुँदैन ।’

    उनले विमानस्थलले यस क्षेत्रको आर्थिक समृद्धिको ढोका खोलेको जनाउँदै यहाँ हुने हरेक गतिविधिसँग स्थानीयवासीलाई जोडेर आत्मनिर्भर र रोजगाररत बनाउनु आफूहरूको पहिलो प्राथमिकता रहेको बताए ।

    गृहमन्त्री खाणले विमानस्थल निर्माण हुँदा जसको जग्गा अधिग्रहणमा परेको छ । त्यो परिवारका सदस्यलाई विमानस्थलमा रोजगारीमा योग्यताअनुसार प्राथमिकतामा राख्न सरकार प्रतिबद्ध रहेको बताए ।

    यसबारे आफूले गौतमबुद्ध विमानस्थलका प्रमुख र नागरिक उड्डयन प्राधिकरणसँग कुरा पनि गरिरहेको उनको भनाइ छ ।

    त्यस्तै विमानस्थलमा कार्गो सञ्चालनका लागि पहल भइरहेको भन्दै उनले कार्गो सञ्चालनमा आएपछि यहाँको कृषि तथा औद्योगिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याएर स्थानीयवासीलाई रोजगारी बढाउने योजना सरकारको रहेको जनाए ।

    रूपन्देही क्षेत्रनम्बर-३ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोषकुमार पाण्डेयले वर्तमान गठबन्धन पवित्र भएकाले यसले संविधान, लोकतन्त्र, संघीयताको रक्षा गर्दै मुलुकको समग्र विकासमा लाग्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij