वेबटिभी खबर
सुर्खेत । कालीकोटको पचालझरना गाउँपालिका-४ बाट चक्र रोकाया कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको कृषि प्राविधिकतर्फको परीक्षा दिनका लागि सुर्खेतसम्म पुग्न गाडी पर्खिदा पनि पाएनन् ।
एकातिर आफ्नो परीक्षा छुट्ने चिन्ता अर्कोतिर बाटोमा अलपत्र परिने होकी भन्ने चिन्ताले उनी दुई दिनको पैदलयात्रा गरेर कालीकोट र दैलेखको सिमानासम्म आइपुगेपछि मात्र फेरी एक दिन गाडी चढेर सुर्खेत पुगे ।
गत हप्ताको अविरल वर्षाका कारण कर्णाली राजमार्गको धेरै ठाउँमा पहिरो खसेर सडक अवरूद्ध हुँदा रोकाय जस्तै हजारौं यात्रुले यस्तै सास्ती बेहोर्नुपरेको छ ।
दसैं मनाउन घरमा पुगेका हिमाली जिल्लाका व्यक्ति आफ्नो पढाइ र कर्मथलोमा फर्किन थाले पनि कर्णालीको हिमाली जिल्लालाई जोड्ने एकमात्र कर्णाली राजमार्ग नखुल्दा केही व्यक्ति अझैसम्म घरबाट हिँड्न सकेका छैनन् भने केही व्यक्तिबीच बाटोमै अलपत्र छन्।
रोकायले भने, ‘म तीन दिनको यात्रापछि सुर्खेत आइपुगें, म जस्ता हजारौं यात्रुले सडक नखुल्दा हैरानी बेहोर्नुपरेको छ, केही व्यक्ति बाटोमै अलपत्र छन् भने केही जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।’
अहिले कर्णाली राजमार्गको कालीकोट खण्डमा मात्रै ७३ ठाउँमा पहिरो गएकाले सवारीसाधन बीच बाटोमै अलपत्र छन् । कतिपय यात्रु लामो दूरीमा पैदलयात्रा गर्न बाध्य छन् । कर्णाली राजमार्गको जुम्ला खण्डमा मात्रै १३ वटा सवारीसाधन बीचैमा अलपत्र परेका हुन् ।
जुम्लाको तिला गाउँपालिकाका टंक न्यौपाने पनि यस्तै अवस्थामा छन् । सडकअवरूद्ध हुँदा उनी आफ्नो कर्मथलो जान सकेका छैनन् । हिमाली भेगका नागरिकलाई हरेक साल यस्तै दुःख हुन्छ।
उनले भने, ‘दसैं तिहार र घर पुग्दा खुसी लिएर जानुपर्ने मान्छे, चिन्ता बोकेर जानुपर्छ, भौगोलिकरूपमा ठगिएका कर्णालीका नागरिक सधैं जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा छन्।’
कर्णाली राजमार्गअन्तर्गत जुम्ला-कालीकोट सडकखण्डको पहिरो हटाउने प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । जुम्ला-कालीकोट खण्ड छिटो खुलाउन सम्बन्धित पालिका र सुरक्षा निकाय जुटेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।
धेरै ठाउँमा एक्साभेटर प्रयोग गरिएको छ । केही ठाउँमा ढुंगा फुटाउन ’ब्लास्टिङ’ गर्नुपर्ने भएकाले नेपाली सेनालाई खटाइएको छ । स्थानीय प्रशासनका अनुसार बाटो खुलाउन अझै तीन दिनसम्म लाग्न सक्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij