वेबटिभी खबर
चितवन । मानवबस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले माडी नगरपालिका-२ सितलपुरबाट सोमबार राति १० बजे बाघ नियन्त्रणमा लिएको हो ।
उक्त बाघले असोज २३ गते स्थानीय उमनाथ पौडेलको गोठमा बाँधेको पाडो मारेको थियो । बाघ पुनः सोही क्षेत्रमा आएपछि डार्ट गरेर नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए ।
उनले एक महिनादेखि बाघ पटक-पटक गाउँमा पसेका कारण नियन्त्रणमा लिनुपरेको बताए । नियन्त्रणमा लिइएको बाघलाई कसरामा रहेको खोरमा राखिएको छ ।
बाघको स्वास्थ्य अवस्था र आनीबानी हेरिसकेपछि निकुञ्जको निगरानी रहने स्थानमा छाडिने संरक्षण अधिकृत आचार्यले जानकारी दिए ।
चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको थियो । पछिल्लो तथ्यांकअनुसार यस निकुञ्जमा एक सय २८ बाघ रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij