Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दसैंमा पनि उडेन गुल्मी विमानस्थलबाट विमान

दसैंमा पनि उडेन गुल्मी विमानस्थलबाट विमान

  • 359
    SHARES
  • दसैंमा पनि उडेन गुल्मी विमानस्थलबाट विमान

    गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यस पटकको दसैंमा पूरा हुन सकेन । २०६३ पछि हरेक वर्षको दसैंमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाड उडेको छैन ।

    हरेक वर्षको दसैंलाई बहाना बनाउँदा राज्यको करोडौं लगानी बालुवामा खन्याएको पानी सरह भएको उनको गुनासो छ । अहिले संरचना तयार हुँदा पनि नियमित उडान नगरी जनतामा भ्रम फैलाइएको उनको भनाइ छ ।

    विमानस्थल निर्माण सम्पन्न भएपछि सरोकारवालाले ध्यान नदिएको स्थानीयवासी दीपक अर्यालको आरोप छ । अर्का स्थानीयवासी शेरबहादुर पुनले विमानस्थलमा नियमित उडान नभएको बताए ।

    चुनावी मुद्दा, राजनीतिक शत्रुता र श्रेयको होडबाजीले विमानस्थल अलपत्र परेको उनले गुनासो छ । ‘पहिले त संरचना पूरा नभएर रोकिएकामा चित्त बुझाएका थियौ’, पुनले भने, ‘अहिले पनि उडान नभएपछि अब सो विमानस्थलबाट उहाजमा उड्ने सपना कहिल्यै पूरा नहुने हो कि सन्देह बढ्न थालेको छ ।’

    उनीहरू मात्र होइन, आम गुल्मेलीलाई प्रत्येक दसैंमा जहाज उड्छ भनेर भुक्काइएको वर्षौं भएको छ । निर्वाचनको समयमा होडबाजीको दौड चलेपनि अघिपछि कसैले पहल नगरेको स्थानीयवासीहरूको आरोप छ ।

    २०६३ मा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीबाट रेसुङ्गा विमानस्थल शिलान्यास गरेका थिए । जग्गा अधिग्रहण र बजेट अभावका कारणले सुरुको सात/आठ वर्ष विमानस्थल निर्माण गति लिन सकेन ।

    त्यसपछि पनि चुनावी प्रचारमा मात्र सीमित रहँदै काम सुरु भएन । शिलान्यासको नौ वर्षपछि २०७२ बाट विमानस्थलको नियमित काम सुरु भयो । रेसुङ्गा विमानस्थल निर्माण आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनीयर दिनेश परियारले पनि त्यसपछि प्रत्येक वर्षको दसैंसम्म नियमित उडानमा पुगिसक्ने बताउँदै आए ।

    निर्माणले गति लिएको चार वर्षसम्म पनि विमानस्थलको ४०/४५ प्रतिशत मात्र काम भएको थियो । विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको विमानले परीक्षण उडान भरेको हो । अर्को वर्ष विश्वव्यापी महामारीकारूपमा फैलिएको कोरोना भाइरसले केही असर गर्‍यो ।

    २०७९ वैशाखमा मात्र विमानस्थल निर्माणले पूर्णरुप पायो । रौताह हरिहरि जेभी र बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले विमानस्थलमा भौतिक संरचना निर्माणको काम गरेका थिए ।

    इञ्जिनीयर परियारका अनुसार जग्गा अधिग्रहण, बजेट अभाव, कोरोना महामारी र निर्माण पहलकर्ताको कम चासोले विमानस्थल निर्माणमा ढिला भएको हो । विमानस्थल निर्माणको क्रममा मुआब्जा दिने गरी १४ घर विस्थापित गराइएको थियो ।

    बाँकी २८ घरको जग्गा अधिग्रहण गरिएको थियो । विस्थापितले मुआब्जा पाइसकेका छन् । निर्माण सम्पन्न विमानस्थलको धावनमार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ ।

    कूल ३५ करोड लागतमा रेसुङ्गा विमानस्थल निर्माण सम्पन्न भएको आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनियर परियारले बताए । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

    अहिले विमानस्थल नियमित उडानका लागि तयार रहेको छ । प्राविधिक जडानपछि नियमित उडान भर्न सकिने इञ्जिनीयर परियारको भनाइ छ । रेसुङ्गा विमानस्थलको संरचना पूर्णरूपमा निर्माण भएपछि रेखदेख गर्ने कोही पनि छैनन् ।

    नियमित उडान शुभारम्भ नहुनु र रेखदेख गर्ने नहुनुले विमानस्थलका संरचनामा क्षति पुग्न थालेको छ । विमानस्थल चिटिक्क बनेकाले घुम्ने जानेको लापरबाहीका कारणले कन्ट्रोल टावरको सिसा फुटिसकेको छ भने अन्य संरचनामा पनि क्षति भएको छ ।

    रेसुङ्गा नगरपालिकाले विमानस्थलको रेखदेखका लागि नगरप्रहरी खटाउने तयारी गरेको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विमानस्थल नियमित सञ्चालन गर्न आफूहरू आतुर रहेको बताए ।

    उनले यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गरेको जानकारी दिए ।

    ‘गुल्मेलीको भाग्य र भविश्यसँग जोडिएको विमानस्थलको नियमित उडानका लागि गम्भीर भएर लागेका छौं’, नगरप्रमुख पन्थीले भने, नियमितको उडानको प्रक्रिया अगाडि बढिसकेको छ ।’

    गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान भएमा आम गुल्मेलीलाई राहत महशुस हुनेछ । छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान र बाग्लुङलाई पनि रेसुङ्गा विमानस्थलले टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij