Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

छ वर्षमा पनि सकिएन चार किमी सडक निर्माण

छ वर्षमा पनि सकिएन चार किमी सडक निर्माण

  • 289
    SHARES
  • छ वर्षमा पनि सकिएन चार किमी सडक निर्माण

    चितवन । झन्डै छ वर्ष हुँदा पनि भरतपुरको ४.४ किलोमिटर लामो बाइपास सडक निर्माण सम्पन्न हुन सकेको छैन ।

    सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण भरतपुर महानगरपालिकाको मुख्य क्षेत्र पर्ने केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको सडक निर्माणको काम सुस्त भएको हो ।

    सडक, विद्युत् र खानेपानीबीच समन्वय नहुँदा सडक विस्तारको काममा झन् ढिलासुस्ती भएको छ । सुरुआतका चरणमा रूख कटान, विद्युतको पोल र खानेपानीको पाइप नसार्दा सडक खण्ड विस्तारमा समस्या भएको थियो ।

    त्यसमाथि मूल्य वृद्धिलगायत विभिन्न बहाना बनाएर ठेकेदारले सडक निर्माणमा झनै ढिलासुस्ती गर्दै आएका छन् । सो सडकखण्डमा बनाइसकेको कालेपत्र भत्किन सुरु भइसकेको छ ।

    ठाउँ-ठाउँमा बनेका खाल्डाले दुर्घटनाको जोखिम बढेको छ । भरतपुर महानगरपालिका-११ का स्थानीय महेन्द्र पाण्डेले सडक निर्माणमा चरम लापरबाही गरेको आरोप लगाए ।

    उनले भने, ‘यतिका वर्ष हुँदा पनि न काम गुणस्तरको छ, न समयमै सम्पन्न भएको छ ।’ उनले सम्बन्धित निकायलाई पटकपटक अनुरोध गर्दा पनि समयमै सडक निर्माण गर्नेतर्फ ध्यान नदिएको बताए ।

    बाइपास सडक विस्तारको काम दुई प्याकेजमा गरिएको छ । केन्द्रीय बसपार्क चोकदेखि विशाल चोकसम्मको जिम्मा गौरी पार्वती निर्माण सेवा र विशाल चोकदेखि आँपटारीसम्मको जिम्मा रायमाझी पशुपति जेभीले पाएका हुन् ।

    बसपार्क चोक-विशाल चोक खण्डको काम डेढ वर्षदेखि ठप्प जस्तै छ । बिजुलीका पोल नहटेको र मेडियन निर्माणमा स्थानीयको अवरोध भएको भन्दै ठेकेदार कम्पनीले काम रोकेको छ । यस खण्डको पश्चिमपट्टि नाला बनाउने काम अधुरो छ ।

    बाँकी काम चाडपर्व र निर्वाचन सकिएपछि मात्रै सुरु हुने सडक डिभिजन कार्यालयले जनाएको छ । सडकमै पर्ने कार्यालयकै अगाडि रहेको मन्दिरसमेत स्थानीयले भत्काउन नदिएको सडक डिभिजनका इन्जिनियर सागर कार्कीले बताए ।

    सडक, खानेपानी, विद्युत् प्राधिकरणलगायत सरोकारवाला निकाय पहिला छलफल गरेर काम अगाडि बढाउनु पर्ने उनको भनाइ छ । पन्ध्र महिनामा सक्नुपर्ने यस खण्डको काम झन्डै छ वर्षमा ९० प्रतिशत पुगेर अड्किएको उनले बताए ।

    विद्युत् प्राधिकरणले नालीमा पर्ने बिजुलीका पोल नहटाउँदा सडक विस्तारको काम ठप्प भएको उनको भनाइ छ । विद्युतले पोल नहटाउँदा सडक डिभिजनको कार्यालय अगाडि नै दुर्घटना भइरहेका छन् ।

    त्यहाँ विद्युत्ले नयाँ पोल गाडिसकेको छ तर पुराना पोल हटाएको छैन । बाटोमुनि खानेपानीको पाइप भएकाले ठाउँ-ठाउँमा पिच भत्किएको उनले जानकारी दिए । स्थानीयले आ-आफ्नो घरअगाडि जेब्राक्रस र गाडी घुमाउने ठाउँ राख्न दबाब दिँदा मेडियनलाई पूर्णता दिन नसकिएको उनले बताए ।

    नयाँ सडक भए पनि ठाँउ-ठाँउमा टालटुल गरिएका कारण पुरानो सडक जस्तै देखिने गरेको छ । ४.४ किमी बाइपास सडक विस्तार गर्न गौरी पार्वतीसँग ०७३ पुसमा सम्झौता भएको थियो ।

    १२ करोड ८१ लाख ८२ हजारमा सम्झौता भएको ठेक्काको काम पछि पुनरावलोकन भएर बसपार्कदेखि विशालचोकसम्म मात्रै चार लेनमा विस्तार गर्ने सहमति भएको थियो ।

    दुई वर्षमा सक्नुपर्ने विशालचोक-आँपटारी खण्डको काम म्याद सकिसक्दा पनि जम्मा ३० देखि ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । यस खण्डको म्याद २०७८ साल फागुनमा नै सकिएको हो ।

    कार्यालयले गएको साउनमा २०८० साल असारसम्मका लागि म्याद थप गरेको छ । २६ करोड लागतमा २.२ किमी सडक विस्तार गर्न लागिएको हो । यस खण्डमा अहिले बेसको काम भइरहेको छ ।

    २०७७ साल असोजमा सम्झौता भएको सडकखण्डको काम दुई वर्षमा सक्नुपर्नेमा अझै सकिएको छैन । यो खण्डको काम पनि चाडपर्व र निर्वाचन सकिएपछि मात्रै सुरु हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।

    निर्माण कम्पनीले भने सरकारी निकायको समन्वय नहुँदा रूख कटानमा ढिलाइ, विद्युतको पोल र खानेपानीको पाइप सार्न ढिलाइ गरेका कारण सडक निर्माणमा ढिलाइ भएको बताउँदै आएका छन् ।

    राजमार्ग क्षेत्रको भीड र दुर्घटनाको जोखिम कम गर्न भन्दै विस्तार सुरु गरिएको यो सडकखण्ड समयमै निर्माण सम्पन्न गर्नका लागि पटक-पटक सरोकारवालाबीच छलफल र ठेकेदार कम्पनीलाई निर्देशनसमेत दिइएको थियो । तर निर्माणमा भएको सुस्तताले यहाँ यात्रा गर्नेलाई हैरानी बनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij