Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

डोल्पालीले आयोडिनयुक्त नुन पाएनन्

डोल्पालीले आयोडिनयुक्त नुन पाएनन्

  • 545
    SHARES
  • डोल्पालीले आयोडिनयुक्त नुन पाएनन्

    जाजरकोट । सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको ठाउँमा ढिके नुन नै प्रयोग गर्न बाध्य भएको सर्वसाधारणले जानकारी दिएका छन् ।

    जिल्लाका मुड्केचुला गाउँपालिकाको सर्मी, जगदुल्ला गाउँपालिकाको काइगाउँ, त्रिपुरासुन्दरी गाउँपालिकाको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिन्जेमा आयोडिनयुक्त नुनको डिपो रहेको छ ।

    त्यस्तै तिन्जेबाट टाढा रहेको फोक्सुण्डो, सालदाङका लागि क्याटोबाट वितरण हुने गरेको साल्टटेड्रिङ कर्पोरेशन लिमिटेड डोल्पाका प्रमुख प्रकाशबहादुर धामीले जानकारी दिए । बर्सेनि सदरमुकाम दुनै र जुफालबाट मात्र आयोडिनयुक्त नुन वितरण हुने गरेको उनको भनाइ छ । 

    उपल्लो डोल्पाको तिन्जे डिपोमा जाने नुन केन्द्रीय कार्यालयले नै कोटा निर्धारण गर्दै आएको छ । चीनको बाटो हुँदै उपल्लो डोल्पाको क्याटो र तिन्जेमा नुन ढुवानी हुँदै आएको छ ।

    अघिल्लो वर्ष कोभिडका कारण चीनले नाका नखोल्दा उपल्लो डोल्पामा आयोडिनयुक्त नुनको ढुवानी हुन नसकेको हो । यस वर्ष चीनबाटै त्यहाँ ढुवानी हुन सकेन । तल्लो तथा मध्य डोल्पामा नेपालगञ्जबाट नुन ढुवानी हुने गर्दछ ।

    सरकारले सदरमुकाम दुनैमा ३०० क्विन्टल, जुफालमा २०० क्विन्टल, त्रिपुरासुन्दरीको लिकुमा ४५० क्विन्टल, मुड्केचुलाको सर्मीमा ३०० क्विन्टल र जगदुल्लाको काइगाउँमा २५० क्विन्टल आयोडिनयुक्त नुनको कोटा निर्धारण गर्दै आएको छ । बर्सेनि मागका आधारमा पनि कोटा तल माथि हुनसक्ने बताइएको छ ।

    अघिल्लो र यस आर्थिक वर्षमा सदरमुकाम दुनै र जुफालमा मात्र आयोडिनयुक्त नुन बिक्री वितरण हुँदै आएको छ । यस आवमा सदरमुकामबाट बाहिरका कुनै पनि डिपोमा ठेक्का नलागेका कारण आयोडिनयुक्त नुन सर्वसाधारणले खान नपाएको प्रमुख धामीले जानकारी दिए । 

    डिपोमा नुन नभएपछि स्थानीय पसलमा महङ्गोमा ढिके नुन खरिद गरेर प्रयोग गर्न बाध्य भएको सर्वसाधारण बताउँछन् । जतिपटक नुनका लागि डिपोमा गए पनि सधैं छैन भन्ने जवाफ आउने गरेको मुड्केचुला गाउँपालिका-७ का रामबहादुर सिंहले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij