वेबटिभी खबर
काठमाडौं । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएको नागरिकता विधेयकको भविष्य के हुने भन्ने अझै निश्चित भइसकेको छैन ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरि राष्ट्रपति भण्डारीसमक्ष पठाएको आज १५ दिन पुगेको छ । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो ।
तर राष्ट्रपति भण्डारीले भने आफूले केही विषयमा सच्याउनुपर्ने सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । तर प्रतिनिधिसभा र राष्ट्रिय सभाले भने एक अक्षर पनि संशोधन नगरी विधेयक हुबहु पारित गरि फेरि पठाएपछि राष्ट्रपति असन्तुष्ट छिन् ।
उनले विधेयक ‘होल्ड’ मा राख्ने मनस्थिति बनाएको स्रोतले जनाएकाे छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक १४ दिन बितिसक्दा पनि प्रमाणीकरण नगरेपछि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका थिए ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच डेढ घन्टा लामो छलफल भए पनि विधेयक प्रमाणीकरण हुने कि नहुने भन्ने निश्चित नभएको बालुवाटार स्रोतकाे भनाइ छ ।
‘राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु हुन्छ भन्नेमा प्रधानमन्त्री त्यति विश्वस्त नदेखिएकाे स्राेतले जनाएकाे छ । सत्तारुढ गठबन्धनको शीर्ष नेताको मंगलबार बस्ने बैठकमा नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे के गर्ने भन्ने विषयमा छलफल हुने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने चेतावनी दिइसकेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अब आउने नयाँ राष्ट्रपतिले पनि पहिलेकै थिति बसाल्ने र त्यसले कार्यपालिका र शीतल निवासबीच द्वन्द्व सुरु हुने बताएका छन् ।
सत्तारूढ नेपाली कांग्रेसका नेताहरू भने नागरिकता विधेयकबारे खुलेर बोलेका छैनन् । तर एमालेले भने नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न नहुने धारणा राख्दै आएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij