वेबटिभी खबर
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-५ मगरदाङमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मगरदाङका चार सय १५ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको हो ।
प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले दुई सय केभिए क्षमताको ट्रान्सफर्मरमार्फत मगरदाङमा विद्युतीकरण गरिएको जानकारी दिए ।
‘मुख्य, शाखा लाइन, ट्रान्सफर्मरलगायतका संरचना निर्माण तथा जडान गरेर भदौ २५ गतेदेखि विद्युत् सेवा वितरण थालिएको छ’, उनले भने, ‘मगरदाङमा विद्युत् विस्तार गर्न संघीय सरकारको करिब २ करोड ५० लाख लगानी भएको छ ।’
मगरदाङका बासिन्दा रातिका समयमा उज्यालोका लागि लघु जलविद्युतमा निर्भर रहेका थिए । २०७७ मा दाङखोलामा आएको बाढीले २५ किलोवाट क्षमताको मगरदाङ डाँडागाउँ-आशाटोल लघुजलविद्युत् परियोजनाको विद्युत गृह, नहर र जेनेरेटरमा क्षति पुर्याएपछि त्यस क्षेत्रका स्थानीय विद्युत् सेवाबाट वञ्चित रहनु परेको थियो ।
मालिका गाउँपालिका-५ का वडाध्यक्ष मीम पुनले केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा सुविधा विस्तार भएपछि दैनिक घरायसी काम, विद्यार्थीलाई पठन-पाठन गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको बताए ।
‘वडाको गर्जरा, रुन्मामा यसअघि नै विद्युतीकरण भएको थियो’, उनले भने, ‘घरथोक, पन्थोक, जुग्जा र छुटेका बस्तीमा चालु आर्थिक वर्षभित्रमा विद्युत् सेवा विस्तार गर्ने तयारी भएको छ ।’
विद्युत् सेवा विस्तारसँगै फर्निचर, पाउरोटी उद्योग, विद्यालयमा कम्प्युटर विषयको पठन-पाठन, वडा र अन्य कार्यालयको प्रशासनिक काम सहज भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरणकेन्द्रअन्तर्गत २१ घरमा विद्युत् सुविधा विस्तार भएको छ ।
केन्द्रका प्रमुख प्रशान्त झाले गत आर्थिक वर्षमा थप ११ किलोमिटर ११ केभी र चार सय/दुई सय भोल्टेजको ९५ किलोमिटर शाखा लाइन विस्तार भएको बताए ।
चालु आर्थिक वर्षमा मालिकाको रुम, स्याउलुङ, औल, रघुगंगाको पात्लेखर्क, धवलागिरिको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत् आपूर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ ।
पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तरगतको मिलनचोक सवस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij